Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफको आईपिओमा आवेदन दिने अन्तिम दिन आज !

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०४ : ५० मा प्रकाशित

सानिमा लाइफको आईपिओमा आवेदन दिने अन्तिम दिन आज  !

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन आज आईतबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २० गते, बुधबारदेखि आईपिओ बिक्रि खुल्ला गरेको थियो । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बुधबार देखि जारी भएको आईपीओमा (शुक्रबार) ३ः३० बजेसम्ममा १९ लाख १८ हजार ५५७ वटा आवेदन परेको छ । सर्वसाधारणमा निष्काशन गरेको सेयरका आधारमा कम्पनीको आईपीओमा माग भन्दा ५.५५ गूणा धेरै आवेदन परेको हो ।

आवेदकहरुले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६२० कित्ता सेयर माग गरेको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको