Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको ३६ औं वार्षिकोत्सवः विद्युत् खपत बढाउन महसुल दर फरकफरक बनाइने

पत्रपत्रिका

बुधबार, ०२ भदौ २०७८, ०७ : ४५ मा प्रकाशित

प्राधिकरणको ३६ औं वार्षिकोत्सवः विद्युत् खपत बढाउन महसुल दर फरकफरक बनाइने

गत आवमा नेपाल विद्युत् प्राधिकरणको नाफा ७० प्रतिशतले घटेको छ । गत आवको व्यवसायबाट प्राधिकरणले रू. ३ अर्ब ५१ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ह्वात्तै कम हो । अघिल्लो आवमा प्राधिकरणले रू. ११ अर्ब ६८ करोड खुद नाफा कमाएको थियो ।

विद्युत् चुहावट बढ्दा, विद्युत् महशुल नउठ्नुलगायत कारण प्राधिकरणको नाफा घटेको हो । मंगलवार काठमाडौं प्राधिकरणको ३६औं वार्षिकोत्सवको समारोहमा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । गत आवमा कर अघिको नाफा भने रू. ६ अर्ब छ ।

यता प्राधिकरणको आम्दानीसमेत घटेको छ । समीक्षा वर्षमा प्राधिकरणले विद्युत् विक्रीबाट रू।७१ अर्ब २८ करोड आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ६ दशमलव ५९ प्रतिशतले कम हो । अघिल्लो आवमा प्राधिकरणले रू। ७६ अर्ब ३२ करोड रूपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी भने रू। ८० अर्ब ३५ करोड छ ।

नाफा र आम्दानी घटेको अवस्थामा प्राधिकरणको सञ्चालन खर्च भने दोहोरो अंकले बढेको छ । गत आवमा प्राधिकरणको सञ्चालन खर्च रू। ६८ अर्ब ४५ करोड पुगेको छ, जुन अघिल्लो आवको तुलनामा करीब ११ प्रतिशतले बढी हो । अघिल्लो आवमा प्राधिरकणले रू। ६१ अर्ब ८७ करोड खर्च गरेको थियो । प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले मुलुकभित्रै खपत बढाउन फरक–फरक महशुल लागू गरिने बताइन् । साथै, आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई दृष्टिगत गरी आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताइन् ।

उनले अबको २ वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन पनि दिइन् । ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चूल्होको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउनुपर्ने बताए । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत् खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरणलाई निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिने बताए । विद्युत् माग र खपत वृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने बताए ।

‘माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत आयोजनाबाट उत्पादित विद्युत् विक्रीका लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युत्को स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तरदेशीय बजारमा विक्री गर्न आवश्यक प्रबन्ध मिलाइनेछ,’ उनले भने, ‘स्वदेशमै विद्युत् खपत वृद्धि गर्न सके उत्पादित विद्युत्को उपयोग मात्र हुने नभई देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्यान) का अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तीव्रता दिन दिए ।

आर्थिक अभियान दैनिककमा समाचार छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको