Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकाको फोहोर अझै १ साता नउठ्ने

अर्थ संसार

विहीबार, १० भदौ २०७८, ०६ : ५८ मा प्रकाशित

उपत्यकाको फोहोर अझै १ साता नउठ्ने

काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो ।

पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए । साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहोरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन ।

‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने । गएको ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई १ हप्ता घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।

यो सूचना सार्वजनिक भएको पनि १ हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहोर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा नदीकिनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले शहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्यान्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए । उनले भने, ‘निर्माणाधीन बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको काम शुरू नगरिएसम्म समस्या समाधान हुँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।’

सिसडोलमा विसं २०६२ मा २ वर्षको मात्र फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड निर्माण गरिएको थियो । तर, पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहोर निस्किने गर्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुश्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमीटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि निर्धारित समय सकिएको छ । काम सम्पन्न गर्न भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ बजेट सम्झौता भएको थियो ।

निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको थियो । उता डिभिजन सडक कार्यालय काठमाडौंले सिसडोलको समस्या आफ्नो नरहेको बताएको छ । बञ्चरेडाँडा अब १ हप्तामा तयार हुन्छ, वैकल्पिक बाटो तयार नगर्ने हो भने उक्त स्थानमा फोहोर विसर्जन गर्न सकिँदैन, त्यसका लागि कामपाले अहिले नै बाटो तयार गर्नुपर्छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार यसमा सडक विभागले गर्नुपर्ने काम सकिएको छ । सिसडोलको फोहोरको थुप्रो पन्छाएर सोही स्थानबाट बञ्चरेडाँडामा फोहोरको गाडी लाने वा अर्को विकल्प खोज्ने काम कामनपाको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको