Like us!
Follow us!
Connect us!
Watch us!

२ दिनसम्म काठमाडौंको फोहर व्यवस्थापन रोकिने

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १७ : १७ मा प्रकाशित

२ दिनसम्म काठमाडौंको फोहर व्यवस्थापन रोकिने

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो ।

 

सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ । वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।   

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।  

गत फागुनदेखि जेठसम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।

कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक पाँच सय जरिवाना गरिनेछ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको