Like us!
Follow us!
Connect us!
Watch us!

सडकमै थुप्रियाे उपत्यकाको फोहोर

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १७ : २४ मा प्रकाशित

सडकमै थुप्रियाे उपत्यकाको फोहोर

साङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य १० दिनदेखि रोकिएको छ । 

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ । 

पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो । 

काठमाडौं महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरेपनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहरको गाडी लान नदिने भनेपछि अहिले फोहर लाने काम पूर्ण रुपमा ठप्प भएको छ । 

लामो समयसम्म सडकमा फोहोर थुप्रिदा आवतजावत गर्न समस्या भएको छ । फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । उनका अनुसार विसं २०७० देखि शुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । 

‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपछ’, राईले भने, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जानकारी दिएको छ । 

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिन्छ ।  

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महीनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । 

नियमित पानी पर्न शुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । फोहरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको