Like us!
Follow us!
Connect us!
Watch us!

सस्तियो आलुको भाउ, बढ्यो नयाँ उत्पादन

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १४ : १८ मा प्रकाशित

सस्तियो आलुको भाउ, बढ्यो नयाँ उत्पादन

बजारमा आलुकाे माग बढ्न थालेको छ । गत वर्ष दशैंको पूर्वसन्ध्यामा असोजको पहिलो हप्ता प्रतिकिलो ८१ रुपैयाँसम्म पुगेको आलुको मूल्य यसपालि असोज पहिलो साता प्रतिकिलो ५९ रुपैयाँमा झरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

नयाँ आलु उत्पादन हुन थालेपछि मूल्यमा गिरावट आएको हो । काभ्रे, दोलखा, सिन्धुपाल्चोकको मुडे र मकवानपुर, रामेछाप, पालुङलगायत क्षेत्रबाट नयाँ आलु आएपछि मूल्य सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘नयाँ आलु आएपछि केही सस्तो भएको छ । तर, केही उपभोक्ताहरु भने महङ्गो भयो भन्दै गुनासो गरिरहेका छन् । गतवर्ष असोजको पहिलो हप्ताभन्दा यस वर्षको असोजको पहिलो हप्तामा आलुको भाउ घटेको छ ।’ 

नेपाल आलुमा अत्मनिर्भर नहुँदा नेपालीले समय समयमा महँगो मूल्य तिरेर किन्नु पर्ने बाध्यता भने कायमै रहेको श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतबाट वार्षिक ७० प्रतिशत आलु नेपाल भित्रिन्छ । अघिल्लो वर्ष असोजको पहिलो सातामा ९१३ टन आलु कालिमाटी बजार भित्रिएको थियो भने यसपालि पहिलो साता ९१४ टन आलु भित्रिएको बजार विकास समितिले जनाएको छ । भारतबाट ५७६ टन आलु भित्रिएको छ भने नेपालका केही ठाउँबाट ३३८ टन भित्रिएको जनाइएको छ । यो भनेको भारतबाट ६३ प्रतिशत र नेपालबाट ३७ प्रतिशतमात्रै आलु बजारमा आइपुग्ने गरेको उपनिर्देशक श्रेष्ठको भनाइ छ । 

कालिमाटीमा आजको भाउमा नेपाली रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, भारतीय आलुको मूल्य प्रतिकिलो ३१ रुपैयाँ तोकिएको छ, मुडेको आलु प्रतिकिलो ४९ रुपैयाँ तोकिएको छ भने सेतो आलु ४१ रुपैयाँ ५० पैसा तोकिएको छ । 

तर, खुद्रा बजारमा भने भाउ मनलाग्दी हुने गरेको उपभोक्ता बताउँछन् । हाल उपत्यकाका खुद्रा पसलमा भने रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गर्दै आएका छन् भने भारतीय आलु प्रतिकिलो ३० रुपैयाँमा बेच्दै आएको बताउँछन् खुद्रा व्यापारी । त्यस्तै, सेतो आलु प्रतिकिलो ४० रुपैयाँमा बेचेको बताउँछन् । मुडेको आलु महंगिएको छ भन्दै प्रतिकिलो ८० रुपैयाँसम्ममा बच्ने गरेको खुद्रा व्यापारीको अनुभव छ । 

कालिमाटी तरकारी बजारमा नै मूल्यमा एकरुपता नभएको भन्दै खुद्रा व्यापारीहरु महँगो मूल्यमा आलु बेच्न बाध्य भएको गुनासो गर्छन् । बिहानको समयमा तरकारी किन्न जाँदा मूल्य फरक पर्ने गुनासो खुद्रा व्यापारीको छ । 

यसले गर्दा उपभोक्ताहरु मारमा पर्दै आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको