Like us!
Follow us!
Connect us!
Watch us!

आलु खेतीले आत्मनिर्भर बन्दै युवा

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १२ : ४६ मा प्रकाशित

आलु खेतीले आत्मनिर्भर बन्दै युवा

गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलायन हुने क्रम जारी छ  । किन विदेश जाँदै हुनुहुन्छ ? भन्दा प्रायःसबैको एउटै उत्तर हुन्छ– देशमा रोजगारीको अवसर नहुनु ।’ तर, यही महोलमा आफ्नै गाउँठाउँमा धेरै कुरा गर्न सकिन्छ भन्दै युवाहरूका लागि उदाहरणीय पात्र बनेका छन्, डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका ताराप्रसाद भट्ट ।

भट्ट पनि रोजगारीको लागि कतार पुगेका थिए । १० वर्ष कतारमा १८ घण्टा काम गरेका उनले १२ घण्टा काम गरेको मात्र पारिश्रमिक पाएको बताउँछन् । 

रातदिन पसिना बगाउँदासमेत उचित पारिश्रमिक नपाएपछि उनले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने योजना बुने र स्वदेश फर्किए । सोही समयमा उनको योजनामा साथ दिन पुगे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाई आलु सुपरजोन डडेल्धुराका प्रमुख खेमराज जोशी । 

आलु सुपरजोनले जिल्लामा आलु खेतीको विस्तार गर्न कृषकलाई सघाउ पुर्याइरहेको थियो । डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीमा आलु उत्पादन गर्न उपयुक्त वातावरण रहेको कुरा थाहा पाएसँगै भट्टले पनि आलु खेती सुरु गरे। 

‘७५ जनाको समूह बनाएर आलुखेती गरेँ । समूहको नाम मणिलेक ताजा तरकारी उत्पादन समूह राखेँ । र, म अध्यक्ष बनेँ,’ भट्टले भने, अहिले आलु खेतीबाट मनग्य आमदानी गरिरहेको छु । आर्थिक, प्राविधिक, यन्त्र उपकरणमा आलु सुपरजोनले सहयोग गरिरहेको छ ।’

दुई वर्षअघिसम्म परम्परागत खेती प्रणाली गर्ने गरेको भए पनि त्यसले साँझ बिहान खान नपुग्ने गरेको भट्टको भनाइ छ । तर, आलुखेती गरेपछि मनग्य आमदानी हुने गरेको उनी बताउँछन् । उनका अनुसार कृषकले आलुको बिउमा सुपरजोनको ५० प्रतिशत स्थानीय सरकारको २५ प्रतिशत सहयोग पाएका छन् । 

‘कतारमा १८ घण्टा काम गरेर १२ घण्टाको मात्र पारिश्रमिक पाइन्थ्यो । तर, यहाँ ६ घण्टा काम गरेर १२ घण्टा काम गरे बराबरको पारिश्रमिक पाइरहेको छु’, उनले भने । 

भट्ट त डडेल्धुराका एक उदाहरण मात्रै हुन् । उनी जस्तै नवदुर्गा गाउँपालिकाका अन्य कृषकले पनि कृषि समूह बनाएर गहुँ, जहुँ र तोरी लगाउने खेतमा आलुखेती गरिरहेका छन् । आलुखेतीले विगतमा गरेको खेतीभन्दा बढी आमदानी दिन थालेपछि आलुखेती सुरु गरेको स्थानीय देवादेवी लुहारले बताइन् । 

छैन स्थानीय सरकारको सहयोग दुई नगरपालिका र पाँच गाउँपालिका गरि सातवटा स्थानीय तह रहेको डडेल्धुराकाका सातवटै स्थानीय तह आलु सुपरजोन क्षेत्र घोषणा भइसकेका छन् । 

कृषकले आलु सुपरजोनको ५० प्रतिशत स्थानीय तहको २५ प्रतिशत सहयोग पाएको कारण पनि परम्परागत खेती प्रणाली त्याग्दै आलु खेतीमा जोड दिएका छन् । तर, कृषकले आलुको बिउमा २५ प्रतिशत सहयोगबाहेक अन्य सहयोग नपाएको गुनासो गरेका छन्। 

स्थानीय तहले वडावडामा कृषि प्राविधिक राखे पनि कृषकलाई परामर्श नदिने गरेको कारण रोग किराबाट आलु जोगाउन समस्या हुने गरेको कृषक हरूदेवी साउँदले बताइन् । गत असोजको अन्तिम सातातिर परेको अविरल वर्षाले लगाएको आलु पूरै कुहिँदासमेत नवदुर्गा गाउँपालिकाले सहयोग नगरेको उनको भनाइ छ। 

चार वर्षमै सात सय हेक्टरमा फैलियो आलुखेती

१२१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै ७०० हेक्टर क्षेत्रफलमा फैलिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई आलु सुपरजोन डडेल्धुराले जनाएको छ।

आलुको क्षेत्रफल बढेसँगै उत्पादनमा समेत बृद्धि भएको हो । कार्यालय स्थापना भएको चार÷पाँच वर्षमा परियोजनाले किसानलाई आर्थिक, प्राविधिक, यन्त्र उपकरणमा गरेको सहयोगले क्षेत्रफल विस्तार भएको परियोजनाका कृषि विकास अधिकृत खेमराज जोशी बताउँछन्। 

डडेल्धुरामा परियोजना सञ्चालन पूर्व एक सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती गरिदै आएको तथ्यांक थियो। परियोजना, कृषि ज्ञान केन्द्र, स्थानीय सरकार र कृषकसँगको साझेदारीमा आलुखेतीको क्षेत्रफल विस्तार भएको जोशीले बताए। 

‘चक्लाबन्दीमा आलुखेतीको विस्तार हुदै गएको छ। परियोजनाले सिँचाई, यन्त्र उपकरण, बिउ मलखादमा किसानलाई अनुदान दिँदै आएको छ। हिउँदे र बर्खे गरी दुई सिजनमा यहाँका सातवटै स्थानीय तहमा आलुखेती हुँदै आएको छ,’ उनले भने। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको