Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि भारतसंग भिड्ने

अर्थ संसार

विहीबार, २८ असोज २०७८, ०५ : १८ मा प्रकाशित

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि भारतसंग भिड्ने

अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १(१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो ।

खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औं मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्‍यो ।

नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए ।

त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

 माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो ।

मालेस्थित नेसनल फुटबल स्टेडियममा  भएको खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि(किक पाएको थियो ।

सोही फ्रि(किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । फ्रि(किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र  डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको छैन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।

प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १(० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १(० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो ।

अब भारत र नेपालका बीचमा फाइनलमा खेल हुनेछ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको