इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आज (अगस्ट १५) बाट सुरु हुँदैछ, जहाँ गत सिजनको विजेता लिभरपुलले उद्घाटन खेलमा बोर्नमाउथ सँग खेल्ने तय भएको छ ।
अर्ने स्लटको नेतृत्वमा गत सिजन २०औँ पटकको लिग उपाधि जितेको लिभरपुल फेरि एकपटक उपाधिको प्रमुख दावेदारका रूपमा रहेको छ। तर, लगातार तीन सिजन दोस्रो स्थानमै सीमित भएको आर्सनल, पुनरागमनको प्रयासमा म्यानचेस्टर सिटी, र हालैको फिफा क्लब वर्ल्ड कप विजेता चेल्सीले पनि यसपटक बलियो चुनौती दिने अनुमान गरिएको छ।
लिभरपुल : उपाधि रक्षा यात्राको सुरुवात
गत सिजन आर्सनलभन्दा १० अंकको अग्रतासहित उपाधि जितेको लिभरपुलले यो वर्षको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । जर्मन स्टार फ्लोरियन भिर्ट्जलाई १५६ मिलियन डलरमा अनुबन्धन गर्दै फ्रान्सेली स्ट्राइकर हुगो एकिटिके र डच विङ्गर जेरिमी फ्रिम्पोङलाई टिममा सामेल गरिएको छ।
तर, मोहमद सालाह र भर्जिल भान डाइकको निरन्तरता कायम गर्नु नै क्लबको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ। अफ्रिका कप अफ नेसन्सका कारण सालाह बीच सिजनमा अनुपस्थित हुने भए पनि उनको गोल क्षमता अझै पनि निर्णायक हुनेछ।
टीमका लागि सबैभन्दा ठूलो भावनात्मक धक्का भने जुलाईमा स्पेनमा भएको कार दुर्घटनामा डियोगो जोटाको निधन हो।
आर्सनल : २२ वर्षको पर्खाइ अन्त्य गर्ने लक्ष्य
मिकेल अर्टेटाको टोलीले यसपटक स्विडेनी स्ट्राइकर भिक्टर ग्योकेरेसलाई ८५ मिलियन डलरमा ल्याउँदै आक्रमण पंक्ति मजबुत बनाएको छ।
चेल्सीबाट नोनी माडुएके र रियल सोसिदाडका युरो २०२४ विजेता मार्टिन जुबिमेन्डीको आगमनले टोलीको गहिराइ र मध्य मैदान सुदृढ बनाएको छ। गत सिजन शीर्ष गोलकर्ता काइ हाभर्ट्जका मात्र ९ गोल भएकाले नयाँ स्ट्राइकरको आगमन आर्सनलका लागि निर्णायक बन्न सक्नेछ।
चेल्सी : क्लब वर्ल्ड कपको जोशसँग लिगमा प्रवेश
फ्रान्सेली दिग्गज पेरिस सेन्ट–जर्मेनलाई हराउँदै फिफा क्लब वर्ल्ड कप जितेको चेल्सीले लिगमा पनि सोही लय कायम राख्ने लक्ष्य लिएको छ।
ब्राइटनबाट ल्याइएका जोआओ पेड्रोको प्रदर्शनले पहिल्यै साइनिङलाई उचित सावित गरेको छ, भने लियम डेलाप र ब्राजिलियन स्ट्राइकर एस्टेभाओको समावेशले आक्रमणमा विकल्प थपिएको छ। तर, २०१७ यता लिग उपाधि नजितेको चेल्सीले लामो दूरीको स्थिरता कायम राख्न सक्ने हो कि भन्ने प्रश्न भने बाँकी छ।
म्यानचेस्टर सिटी : पुनरागमनको खोजीमा
गत सिजन ९ खेलमा हार बेहोरेर शीर्ष दुईबाहिर पुगेको पेप गार्डियोलाको टोलीका लागि यो वर्ष ‘पुनरागमन’को सिजन हुनेछ।
केभिन डि ब्रुइनको प्रस्थान र रोड्रीको चोटले सुरुवाती चरणमा कठिनाइ ल्याउनेछ। यसपटक ३०० मिलियन पाउन्डभन्दा बढी खर्च गर्दै सिटीले टिज्जानी रेजेन्डर्स, रायन एइट–नौरी, रायन चेर्की, जेम्स ट्राफोर्ड लगायतलाई अनुबन्धन गरेको छ।
तर, प्रिमियर लिगको वित्तीय नियम उल्लङ्घन गरेको आरोपमा क्लबमाथि रहेका ११५ मुद्दाको टुंगो अक्टोबरमा लाग्ने अपेक्षा छ।
अन्य प्रतिस्पर्धी : म्यानचेस्टर युनाइटेड, न्युकासल र एस्टन भिल्ला
म्यानचेस्टर युनाइटेडले वित्तीय चुनौतीका बीचमा पनि बेन्जामिन सेस्को, माथियस कुञ्हा र ब्रायन म्बेयूमोको आगमनसँग आक्रमण पंक्ति पुनर्निर्माण गरेको छ।
न्युकासलका स्टार स्ट्राइकर एलेक्जान्डर इसाकको भविष्य अनिश्चित हुँदा उनीहरूको शीर्ष–चारमा फर्कने सम्भावना कमजोर देखिएको छ।
एस्टन भिल्लाले नाइसबाट इभान गेस्सान्दलाई ३० मिलियन युरोमा ल्याएको छ, तर ओल्ली वाटकिन्सप्रति शीर्ष क्लबहरूको चासोले उनीको टिममै रहन सक्ने/नसक्ने विषय अनिश्चित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस