Like us!
Follow us!
Connect us!
Watch us!

फलफूल किसानलाई पेन्सन !

अर्थ संसार

शनिबार, ३० असोज २०७८, १६ : ५९ मा प्रकाशित

फलफूल किसानलाई पेन्सन !

रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी लिनसक्ने अवस्थामा पुर्‍याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको छ । नगदे बाली मानिने फलफूल खेतीतर्फ आकर्षित गर्न फलफूल खेतीलाई भविष्यको पेन्सनको नारा दिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए । 

एभोकार्डो र कागतीको बिरुवा वितरणका लागि माग आह्वान गरिएको र सोही मागका आधारमा किसानलाई बिरुवा बाँडिने गाउँपालिकाले जनाएको छ । ६ वडा रहेको गाउँपालिकामा फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तगएत किसान पेन्सन कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ । विगतका वर्ष लिची, आँप र सुन्तला खेती प्रवद्र्धनका लागि बजेट खर्च गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा भने किसान पेन्सनको नाममा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको हो । ‘फलफुल खेतीलाई किसानको पेन्सन मानिन्छ । उमेर हुँदा किसानले फलफुल लगाइराखे त्यसले जीवनको उत्तरार्धमा पेन्सनको काम गर्ने गरी नारा बनाएका हौँ,’ कृषि शाखा संयोजक राईले भने, ‘भोलिको दिनलाई सुरक्षित गर्नुहुन्छ भने फलफुलका बिरुवा लगाउनुहोस् जसले गर्दा बुढेसकालमा पेन्सनको रुपमा सहयोग गर्छ । अरु काम सक्दा र पावर हुँदासम्म मात्र हुन्छ । बिरुवालाई हुर्काउन सकियो भने त्यसले जीवनभर पाल्न सक्छ ।’ 

एभोकार्डो र कागतीको बिरुवा लिन गाउँपालिकाले पाँच सय मिटरदेखि १८ सय मिटर उचाईसम्मका भूगोलका किसानलाई आवश्यक कागजातसहित बिरुवा माग गर्न लागि सूचना जारी गरेको थियो । चक्लाबन्दीमा मिलेर फलफुल बगैंचा स्थापना गर्न चाहने समूह वा किसनाहरूलाई बिरुवा वितरणमा पहिलो प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । कृषि प्राविधिकको सल्लाहअनुसार दुरी कायम गरी खाल्डो तयार भएपछि मात्र किसानलाई बिरुवा उपलब्ध गराइने गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको