चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो । शाखा प्रमुख दत्तको निर्देशनमा उनीहरूले आफ्नो खातामा भएको रकम ग्राहकलाई सापटी दिएको स्रोतले बताएको छ ।
‘बैंकबाट कर्मचारीले पनि ऋण लिएका हुन्छन् । त्यस्तो पैसा कर्मचारीले मिटर ब्याज अथवा धेरै ब्याजदर लिनेगरी ग्राहकलाई दिएका हुन् । त्यस्तो गर्न कानुनतः पाइँदैन’, ती कर्मचारीले भने ।
त्यसरी दिएको सापटी पैसाबाट कर्मचारीले २४ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । त्यसरी सापटी पैसा उपलब्ध गराउँदा पनि शाखा प्रमुखले ग्राहकसँग पुनः कमिसन लिने गरेको आरोप लागेको छ । भट्टराई र सापकोटालाई १० दिनअघि नै निलम्बन गरी छानबिन प्रक्रियामा तानिएको हो ।
कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट दुईजना र प्रदेश कार्यालयबाट एकजना गरी तीनजना कर्मचारीले छानबिन गर्दै छन् । छानबिन समितिलाई जतिसक्दो चाँडो छानबिन प्रतिवेदन दिन भनिएको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस