चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार भदौमा पनि शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, चालू खाता, वैदेशिक व्यापार, विप्रेषण आप्रवाहलगायतका सूचकमा नकारात्मक सङ्केत देखिएका छन्, जुन सूचकहरू साउनमा पनि नकारात्मक देखिएका थिए ।
भदौसम्म आउँदा शोधनान्तर घाटा र चालू खाता घाटा थप बढेको छ भने विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको देखिन्छ । साथै, वैदेशिक व्यापार घाटा पनि ह्वात्तै बढेको छ । फलतः अर्थतन्त्रमा अझै पनि सुधारको सङ्केत नदेखिएको प्रतिवेदनले पुष्टि गरेको छ ।
साउनमा रू। ४७ अर्ब ९० करोड रहेको चालू खाता घाटा भदौमा बढेर रू। १ खर्ब ६ अर्ब ७५ करोड पुगेको छ । यस्तै, साउनमा रू। ३८ अर्ब ७५ करोड रहेको शोधनान्तर घाटा अहिले बढेर रू। ८३ अर्ब ४१ करोड पुगेको छ । यसरी एक महिनाको अवधिमा नै चालू खाता र शोधनान्तर घाटा ह्वात्तै बढेको छ ।
यता विदेशी मुद्रा सञ्चितिमा पनि ह्रास आएको छ । गत साउनमा रू। १३ खर्ब ५३ अर्ब ८२ करोड रहेको विदेशी मुद्रा सञ्चिति भदौ मसान्तसम्म आउँदा घटेर रू। १३ खर्ब ६ अर्ब ९५ करोडमा सीमित भएको छ । फलस्वरूप नेपालको वस्तु तथा आयात धान्न सक्ने क्षमता पनि घटेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।
विशेषगरी चाडपर्वलगायतका कारण भदौमा उच्च मात्रामा वस्तु तथा सेवा आयात भएको छ । आयात बढ्दा विदेशी मुद्रामा गरिने भुक्तानी पनि स्वतः रूपमा बढेको छ । तर, त्यस अवधिमा विप्रेषणलगायतका माध्यमबाट उक्त आयातलाई पुग्नेगरी विदेशी मुद्राको आर्जन हुन सकेन । फलस्वरूप विदेशी मुद्रा सञ्चिति घट्न गएको उनको भनाइ छ ।
‘यो भदौसम्मको तथ्याङ्कको हो । चाडपर्वका कारण असोजमा पनि उच्च मात्रामा आयात भएको छ । यद्यपि, त्यसको तथ्याङ्क राष्ट्र बैंकमा आइसकेको छैन,’ उनले भने, ‘असोजसम्म आउँदा यस्ता सूचकको अवस्था झन् बिग्रेको हुन सक्छ । तसर्थ, सरकारसँग सहकार्य गरेर आयातलगायतका विषयमा तत्काल केही गर्नुपर्ने देखिएको छ । त्यसमा हामी तत्काल अगाडि बढ्छौँ पनि ।’
यस्तै, भदौसम्म आउँदा विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको छ । यद्यपि, घट्ने दर भने कमी आएको छ । गत साउनमा १८ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको विप्रेषण आप्रवाह वृद्धिदर अहिले घटेर ६ दशमलव ३ प्रतिशत ९ऋणात्मक० मा सीमित भएको छ । प्रतिवेदनअनुसार भदौसम्म रू। १ खर्ब ५५ अर्ब ३७ करोड विप्रेषण आप्रवाह भएको छ, जुन गत आवको सोही अवधिको भन्दा कम हो । गत आवको सोही अवधिमा रू। १ खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आएको थियो ।
यस्तै, समीक्षा अवधिमा व्यापारघाटा पनि ७० दशमलव ८ प्रतिशतले बढेर रू। २ खर्ब ७० अर्ब ४८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटामा २४ दशमलव ९ प्रतिशतले कमी आई रू। १ खर्ब ५८ अर्ब ४० करोड कायम भएको थियो । साथै, मासिक तुलनामा पनि व्यापार घाटा वृद्धिदर शून्य दशमलव २ प्रतिशत विन्दुले बढेको छ । साउनमा व्यापारघाटा वृद्धिदर ७० दशमलव ६ प्रतिशत रहेको थियो । यसरी पछिल्लो समय मुलुकको बाह्य क्षेत्रमा उच्च दबाव सिर्जना भएको देखिन्छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ७५ दशमलव ९ प्रतिशतले वृद्धि भई रू। ३ खर्ब १४ अब ५२ करोड पुगेको छ । निर्यात भने ११५ दशमलव ४ प्रतिशतले बढेर रू। ४४ अर्ब ४ करोड पुगेको छ ।
वर्तमान समयमा समग्र अर्थतन्त्रको अवस्था त्यति सन्तोषजनक नभएको प्रवक्ता ढकाल बताउँछन् । साथै, अर्थतन्त्रमा कहिलेदेखि सुधार आउँछ भनेर यकिन गर्न पनि नसकिएको उनको भनाइ छ । वित्तीय क्षेत्रमा भने केही सुधार देखिएको उनको भनाइ छ ।
‘समीक्षा अवधिमा बैंकहरूको निक्षेप सङ्कलन र कर्जा प्रवाह बढेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘तर, निक्षेप सङ्कलनभन्दा कर्जा प्रवाहको वृद्धिदर बढी छ । यसमा भने केही चनाखो हुनुपर्ने देखिएको छ ।’ समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप शून्य दशमलव ७ प्रतिशतले बढेको छ । कर्जा प्रवाह भने ५ दशमलव ७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, समीक्षा अवधिमा मूल्यवृद्धि नियन्त्रण आउन खोजेको छ । गत साउनमा ४ दशमलव ३५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति ९मूल्यवृद्धि० भदौमा घटेर ३ दशमलव ४९ मा सीमित भएको छ । गत आवको भदौ महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ५२ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमललव ५७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव २२ प्रतिशत रहेको छ । भदौमा घ्यू तथा तेल, माछामासु, गैरमदिराजन्य पेय पदार्थ, सूर्तीजन्य वस्तु र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः २८ दशमव ९१ प्रतिशत, १० दशमव ६६ प्रतिशत, १० दशमलव २५ प्रतिशत, ९ दशमलव ९९ प्रतिशत र ९ दशमलव ९२ प्रतिशत रहेको छ । यसैगरी, समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ३ दशमलव २३ प्रतिशत, तराईमा ३ दशमलव ६५ प्रतिशत, पहाडमा ३ दशमलव ९६ प्रतिशत र हिमालमा ३ दशमलव ५१ प्रतिशत मुद्रास्फीति रहेको छ ।
आर्थिक अभियान दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस