Like us!
Follow us!
Connect us!
Watch us!

दमकको डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १५ : ३१ मा प्रकाशित

दमकको डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत

दमक-३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्बभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यसकारण पनि दमकको भ्यु टावर राष्ट्रिय चर्चाको विषय भन्यो ।

कोरोना महामारीका कारण जारी पहिलो लकडाउनमा झापाका सबै आयोजना काम ठप्प हुँदा समेत दमकको भ्यु टावर निर्माण रोकिएन । लकडाउनमा पनि काम नरोकिएको आयोजनाको काम भने सम्झौता गरिएको मितिमा नसकिने निश्चित भएको छ । निर्माण सम्पन्न गर्नु पर्ने म्याद दुई महिना मात्र बाँकी रहँदा भ्यु टावर निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरले जनाएको छ । एक सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणको म्याद २७ पुस २०७८ सम्म मात्रै छ । तर, काम भने ५० प्रतिशत मात्र सकिएको सघन सहरी तथा भवन निर्माण कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । भ्यु टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साईराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कोरोनाकालमा धमाधम काम गरे पनि कोरोना कै कारण भ्यु टावरको काम समयमा नसकिएको खतिवडा बताउँछन् । ‘कोरोना महामारीका कारण भ्यु टावर निर्माणको काम समयमै सकिएन । अहिले सातौँ तलाको निर्माण भइरहेको छ,’ उनले भने, ‘विभागले म्याद थप्ने हो । एक वर्ष जति थपिएला कि ! कोरोनाका कारण निर्माणमा समस्या आएको हो । एक वर्ष थपिनु उचित नै हुन्छ ।’ कोरोना कालमा काम भए पनि त्यसले गति लिन नसकेको उती बताउँछन् । ‘कोरोनाले लकडाउन भएको समयमा काम त भयो । तर, मजदुर नपाउने, भनेको बेलामा निर्माण सामग्री नपाउने समस्याका कारण कामले गति लिन सकेन,’ उनी भन्छन्, ‘यद्यपिऽ अहिले धमाधम काम भइरहेको छ ।’

सघन सहरी तथा भवन निर्माण कार्यालयले महामारीको समयमा मजदुरको अभाव भएको बताए पनि भ्यु टावर निर्माणस्थल छेउकै सुकुम्बासी भने आफ्नै आँगनमा भ्यु टावर निर्माण हुँदा पनि रोजगारी नपाएको गुनासो गर्छन् । बाहिरका मान्छे ल्याएर काम गराएर आफूहरुलाई रोजगारी पनि नदिएको सुकुम्बासीको गुनासो छ । ‘घरै छेउमा यति ठूलो भ्यु टावर बन्दै छ । तर, हामी काम खोज्न बाहिर जानुपर्‍यो,’ उनी भन्छन्, ‘लकडाउनमा पनि घरमै बस्यौँ । तर, भ्यु टावरमा हामीलाई काम दिइएन । यस्तो पनि कहीँ हुन्छ ?’

घर छेउमा पर्यटक ल्याउनका लागि एक सय मिटर अग्लो भ्यु टावर निर्माण हुँदैछ । तर, सुकुम्बासीको मन खुसी छैन । सुकुम्बासीलाई त्यहाँबाट उठ्नु पर्ने हो कि भन्ने चिन्ता छ । ‘यहाँ त होमस्टे बन्छ रे ! कतिले त यहाँबाट तिमीहरु हट्नुपर्छ पनि भन्दैछन्,’ सुकुम्बासी भीमकुमारी विक भन्छिन्, ‘हामी त ऐलानीमा बसेको । अलिअलि माटो त भ्यु टावरमा गयो । आँगनमा भ्यु टावर बनेर के गर्नु हामीलाई हटायो भने त समस्या हुन्छ । कहाँ गएर बस्नु । त्यसकारण हामी खुसी छैनौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको