Like us!
Follow us!
Connect us!
Watch us!

धानबालीकाे नोक्सानी नभुल्दै किसानलाई रासायनिक मल अभावको तनाव

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १३ : ४८ मा प्रकाशित

धानबालीकाे नोक्सानी नभुल्दै किसानलाई रासायनिक मल अभावको तनाव

बेमौसमी वर्षाका कारण धानबालीमा भएको नोक्सानको पीडा नभुल्दै कैलालीका किसानलाई अर्को तनाव सुरू भएको छ । पानीमा डुबेको धानबाली जेनतेन उठाएका किसानहरू गहुँ खेतीका लागि आवश्यक रासायनिक मल नपाएर थप पीडित बनेका छन् ।

हिउँदेबाली लगाउन रासायनिक मल डीएपी नपाएपछि गहुँ लगाउन नपाइने हो कि भन्ने चिन्तामा उनीहरू परेकाे बताउँछन् । ‘खेत जोतेर गहुँ छर्न ठिक्क पारेको छ,’ धनगढी–११ का किसान भवराज मिश्रले भने, ‘तर रासायनिक मल नपाउँदा गहुँ छर्न ढिलाई भइरहेको छ ।’ रासायनिक मलका लागि हरेक दिन सहकारी संस्था धाए पनि पाउन नसकेको उनको भनाइ छ । ‘सहकारीमा सधैँ एक दुई दिनमा मल आउँछ भन्छन्न,’ उनले भने, ‘एक महिनादेखि एक दुई दिन भन्दै फर्काउने गरेका छन्, मल भने पाइएको छैन ।’ बर्षाले धानबालीमा क्षेति पुर्याएको दुःखेसो गर्दै उनले रासायनिक मल नपाउँदा गहुँबाली लगाउन समेत ढिलाई भएको बताए । 

धनगढी–३ का किसान कृष्ण ढुंगेलले पनि रासायनिक मल (डीएपी) नपाउँदा गहुँबाली लगाउन ढिलाई भएको बताए । सरकारी अनुदानप्राप्त मल आएपछि गहुँ लगाउने भनेर किसान बसेको तर मल नपाउँदा समस्या भएको उनले बताए । ‘बाहिरबाट किनेको मल राम्रो हुँदैन,’ उनले भने, ‘सरकारले दिने मलका लागि पर्खेर बसेको गहुँ लगाउन ढिला भइसक्यो, किसान निरास बनेका छन् ।’ सहकारीका कर्मचारीले डीएपी छैन यूरिया लैजाउ भन्ने गरेको ढुंगेलले बताए । 

बर्षाका कारण धानबालीमा क्षेति भोगेका किसानलाई मल नदिएर सरकारले झनै पीडा दिएको धनगढी–३ का किसान देवबहादुर विष्टले बताए । ‘धानबालीको क्षेतिपुर्ति दिने त आशा नै छैन्,’ विष्टले भने, ‘रासायनिक मल पनि नदिएर सरकारले किसानलाई पीडामाथि पीडा थपिदिएको छ ।’ उनले अघिल्लो बर्ष बजारबाट डीएपी किनेर हाल्दा काम नगरेको बताए । उनले भने, ‘बजारको मल ढुंगा जस्तै भयो, गहुँ राम्रो भएन ।’

मंसिर पहिलो साता मात्रै डीएपी मल पाइन्छ : साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका शाखा अधिकृत रामचन्द्र जोशीले ठेक्का लगाउन ढिलाई हुँदा यस वर्ष रासायनिक मल (डीएपी) आउन ढिला भएको बताए । अन्तराष्ट्रिय मुल्य वृद्धि हुँदा मुल्य समायोज गर्नु परेको र त्यसले ठेक्का लगाउन ढिला भएकाले नेपालमा मल नआएको उनले बताए । अहिले यूरिया मात्रै रहेको बताउँदै उनले मंसिर पहिलो सातासम्म डीएपी आउने बताए । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत सुदूरपश्चिम प्रदेश सरकारले सुपर नामक रासायनिक मलमा अनुदान दिएर बिक्री वितरण गर्दै आएको थियो । तर, अहिले सुपर मल सकिएको शाखा अधिकृत जोशीले बताए । ‘अहिले यूरिया बाहेक कुनै पनि मल  छैन,’ उनले भने, ‘मंसिरसम्ममा डीएपी आउन सक्छ ।’ उनले मंसिर पहिलो सातासम्म पनि गुहुँ लगाउन सकिने भएकाले किसानलाई नआत्तिन आग्रह गरे । 

रासायनिक मलको अर्को बिक्रेता संस्था कृषि सामग्री केन्द्र लिमिटेडमा पनि डीएपी मौज्दात शुन्य छ । लिमिटेडका लेखापाल रुपबहादुर कुँवरका अनुसार असोज देखि नै डीएपी मलको मौज्दात सकिएको हो । अहिले मल लिन आउने सहकारी संस्थालाई रित्तै फर्काइने गरिएको उनले बताए । ‘यूरिया मौज्दात भए पनि  कसैले लादैनन्,’ लेखापाल कुँवरले भने, ‘डीएपी आएको छैन, सहकारी संस्थालाई खाली हात फर्काउनु परिरहेको छ ।’ उनले मंसिर अन्तिमसम्म डीएपी मल आएपुग्ने आश्वासन आएको बताए । केही किसानले भने हिउँदे बालीका लागि बर्षायाम मै मल लगेको उनी बताउँछन् । 

सुदूरपश्चिम प्रदेशका लागि वर्षेनी ३६ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेकोमा हिउँदेबालीका लागि डीएपी मात्रै १० हजार मेट्रिक टन आवश्यक पर्ने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको