Like us!
Follow us!
Connect us!
Watch us!

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र, सडकलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, ११ : ०९ मा प्रकाशित

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र, सडकलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग  सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । 

सडक बन्न नसक्दा स्थानीय मात्रै नभई पर्यटकसमेत सास्ती भोगेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र वर्षामा हिलो सहँदै आएका स्थानीयले सडक निर्माणका लागि सरोकारवाला निकायलाई झकझकाउन कहिले सडक बन्द त कहिले मन्त्रालयमा पत्राचार गर्दै आएका छन् । तर पछिल्लो समय सो सडकलाई राजनीतिक दृष्टिकोणबाट हेर्न थालिएको छ । 

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६  नगरकोट र ७ खरिपाटीमा पर्ने सडकखण्ड निर्माणको विषयलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता र एमाले प्रतिनिधिले एकअर्कामा आरोप-प्रत्यारोप गर्न थालेका छन् । सडक निर्माणका लागि आर्थिक वर्ष २०७०-७१ मा सम्झौता भएको थियो । लामो समयसम्म सडक नबनेपछि कमलविनायक-नगरकोट सडक निर्माण दबाब समिति नै गठन गरिएको थियो । सोही समितिमार्फत सडक निर्माण  सम्पन्न गर्न दबाब दिइँदै आएको छ ।

समितिका संयोजक राजकुमार लामिछानेले विरोध गर्दा ठेकेदार कम्पनीले केही काम गरेको जस्तै गर्ने र विस्तारै निर्माण कार्य नै अलपत्र छाडेर हिँड्ने प्रवृत्ति देखिएको बताए । 'सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीय मात्रै नभई पर्यटक पनि प्रभावित भएका छन् । सडकको दयनीय अवस्थाले नगरकोट जाने पर्यटकको संख्यामा समेत कमी आएको छ', उनले भने ।

सडक निर्माण चाँडै सम्पन्न गर्न प्रदेश मन्त्री कृष्णलाल भँडेलले तीव्र रूपमा काम गर्न निर्देशन दिएका छन् । तर मन्त्रालय वा विभागले केही चासो देखाएर सडकको निर्माण कार्य तीव्र गरे पनि काममा ढिलासुस्ती भएको स्थानीयको आरोप छ । 

करिब १५ किलोमिटर रहेको सडकखण्ड फराकिलो बनाउन सडक भत्काइएको थियो । सोहीअनुरूप दुई लेन अर्थात् सात मिटर हुने गरी सडकको कालोपत्रे भइरहेको छ । एक  क्षेत्रको नौ किलोमिटर सडक कालोपत्रे भए पनि अझै चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । अबको दुई महिनाभित्र सडक निर्माण कार्य भइसक्ने दाबी निर्माण कम्पनीको छ । 

भक्तपुर-नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले एक-दुई महिनाभित्र निर्माण सम्पन्न गर्नक आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री पर्याप्त हुनुपर्ने ले बताए ।

एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप 

लामो समयदेखि बेवारिसे बन्दै आएको सडक निर्माणका विषयमा हाल एमाले र कांग्रेसका जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप चलेको छ ।  बागमती प्रदेशका भौतिकमन्त्री कृष्णलाल भँडेलले एमालेका नेता वा प्रतिनिधिका कारण नगरकोट क्षेत्रको सडक बन्न नसकेको आरोप लगाएका छन् । तर एमाले प्रतिनिधिले भने सडक विकासमा कुनै राजनीति नभएको भन्दै मन्त्री भँडेलकाे आराेपकाे खण्डन गरेकाे छ ।

एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले मन्त्री भँडेलले आफ्नो पार्टीविरुद्ध झुटाे आरोप र स्तरहीन गालीगलौज गरेको आरोप लगाएका  छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी, शान्तिपूर्ण जनक्रान्तिको सम्बाहक, संविधान निर्माणको निर्णायक शक्ति, राष्ट्रियता, जनजीविका र सामाजिक न्यायका लागि सञ्चालित आन्दोलनको मुख्य परिचालक शक्ति हुनुको नाताले एमाले चाँगुनारायण नगर कमिटी सधै जनतासँगै हातेमालो गर्दै समृद्ध चाँगुनारायण निर्माणमा हरपल क्रियाशील छ’, एमाले विज्ञप्तिमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको