Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो त्रैमासको वित्तिय विवरणः जीवन विकास र महिला लघुवित्त, कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, ११ : ०६ मा प्रकाशित

पहिलो त्रैमासको वित्तिय विवरणः जीवन विकास र महिला लघुवित्त, कुन सूचकमा कुन बलियो ?

केही समयअघि आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

दोश्रो बजारमा महिला लघुवित्तको सेयरमूल्य ५ हजार ७ सय ४९ रूपैयाँसम्म पुगेको थियो भने जीवन विकास लघुवित्तको सेयरमूल्य पनि अधिकतम ५ हजार ५ सय १६ रुपैयाँसम्म पुगेको थियो । त्यसैले हामीले यी दुई संस्थाहरूको वित्तीय सूचकलाई तुलनात्मक रूपले हेरेका छौँ । यी दुई संस्थाहरूको वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा जीवन विकास लघुवित्त अब्बल देखिएको छ । 

जीवन विकास लघुवित्तले यही असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरिसकेकाे छ । जीवन विकास लघुवित्तले भने हालसम्म लाभांश घाेषणा गरेकाे छैन । महिला लघुवित्तकाे भन्दा जीवन विकास लघुवित्तकाे वित्तीय विवरण राम्राे रहेकाे हुनाले यस संस्थाले अझै बढी लाभांश दिने लगानीकर्ताहरूले आँकलन गरेका छन् ।

चुक्ता पूँजीकाे आधारमा

चुक्ता पूँजीकाे आधारमा जीवन विकास लघुवित्त महिला लघुवित्त भन्दा अगाडी छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तकाे चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । यता महिला लघुवित्तकाे चुक्ता पूँजी भने १० कराेड रूपैयाँ छ ।

जगेडा काेषकाे आधारमा

असोज मसान्तसम्ममा जीवन विकास लघुवित्तको जगेडा कोषमा एक अर्ब ४९ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । यता महिला लघुवित्तको जगेडा कोषमा २२ करोड ८९ लाख रूपैयाँ सञ्चित छ । जगेडा कोषमा पनि जीवन विकास लघुवित्त नै अब्बल छ । 

खुद नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

खुद व्याज आम्दानी

असोज मसान्तसम्ममा जीवन विकास लघुवित्तले ३८ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । याे सूचकमा पनि जीवन विकास लघुवित्त अघि छ ।

सञ्चालन नाफा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ९३ लाख ९५ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा जीवन विकास लघुवित्तले १५ कराेड ८३ लाख १४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । 

प्रतिसेयर आम्दानी 

असोज मसान्तसम्म जीवन विकास लघुवित्तकाे प्रतिसेयर आम्दानी ११६ रूपैयाँ ११ पैसा पुगेकाे छ । यता महिला लघुवित्तकाे प्रतिसेयर आम्दानी ११४ रुपैयाँ ७१ पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म महिला लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३२८ रुपैयाँ ९४ पैसा पुग्दा जीवन विकास लघुवित्तकाे प्रतिसेयर नेटवर्थ ३७१ रूपैयाँ ७७ पैसा रहेकाे छ ।

मूल्य आम्दानी अनुपात (पीइ रेसियाे)

समिक्षा अवधिमा महिला लघुवित्तकाे मूल्य आम्दानी अनुपात ११४.७१ गुणा रहेको छ भने जीवन विकास लघुवित्त मूल्य आम्दानी अनुपात ११६.११ गुणा रहेकाे छ । 

6195ea0e8f394.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको