Like us!
Follow us!
Connect us!
Watch us!

सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १४ : ४६ मा प्रकाशित

सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा

भारतबाट फर्किँदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन लागेको केही समयमै उनको एन्टिजेन परीक्षण भयो । एन्टिजेनको रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले रोकामगरलाई बोलाए र छुट्टै बस्न आग्रह गरे । 

तर, उनीसँगै आएका साथीहरू भने आफ्नो सामान बोकेर बाटो लागे । भारतमा रोजगारी गरेर घर फर्किएका ५० वर्षीय रोकामगरको कोरोना संक्रमण (एन्टिजेन रिपोर्ट पोजेटिभ) देखिएपछि स्वास्थ्यकर्मीले उपचारका लागि महाकाली अस्पताल पठाए । 

यस्तै गत बिहीबार भारतबाट फर्किदै गरेका दैलेखका २६ वर्षीया पार्वती विक र उनका ८ वर्षीय छोरा रमित विकमा पनि एन्टिजेन रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई पनि अहिले महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अहिले कञ्चनपुरमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । गत महिनासम्म कोरोनाको संक्रमणदर न्यून रहे पनि पछिल्लो समय भने विस्तारै बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । 

नाकामा सर्तकता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै कञ्चनपुरको पश्चिमी नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिने व्यक्तिबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणको दायरा फराकिलो पारिएको हो । 

भारतबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण र खोप नलगाएकाहरूलाई नाकामै खोपको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार नाकामा पोजेटिभ देखिएकाबाट ओमिक्रोनको संक्रमण भित्रिने सक्ने भएकाले उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरिएको छ । 

ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै नाकामा उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार बताए । 

‘हामी कहाँ कोरोना सर्ने भनेको भारतबाट भित्रिएर हो,’ स्वास्थ्य प्रमुख सुनारले भने, ‘त्यसैले नाकामा एन्टिजेन परीक्षण र खोपको व्यवस्था गरेका छौँ ।’

नाकामा परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई उच्च निगरानीमा राख्दै उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने गरिएको छ । 
‘ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ट भएकाले स्वास्थ्य मान्त्रालयले नाकामा पोजेटिभ देखिएका संक्रमितको रिर्पोट मागेको छ,’ उनले भने, ‘संक्रमितहरूको ओमिक्रोन परिक्षणका लागि महाकाली अस्पतालले स्वाब लिएर धनगढी प्रयोगशाला हुँदै केन्द्रीय प्रयोगशालामा पठाउने गरेको छ ।’ 

ओमिक्रोन परिक्षणको रिर्पोट नआउँदासम्म संक्रमित व्यक्तिलाई महाकाली अस्पतालको आइसोलेसनमै राखेर उपचार गरिने उनले बताए । 

भारत प्रवेशमा कडाइ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतले पनि सीमा नाकामा कडाइ गरेको छ । यसरी भारत जानेहरूलाई खोप लगाएको कार्ड र परिचयपत्र अनिर्वाय गरिएको छ । भारतले कोरोना खोपको दुवै मात्रा लगाएको १५ दिनपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिने व्यवस्था गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको