Like us!
Follow us!
Connect us!
Watch us!

वकिलहरुलाई ओलीको जवाफ : चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन, महाभियोगमा देउवा-प्रचण्ड तयार छैनन्

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १६ : २० मा प्रकाशित

वकिलहरुलाई ओलीको जवाफ : चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन, महाभियोगमा देउवा-प्रचण्ड तयार छैनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आ-आफ्नै स्वार्थ भएकाले न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना आफूले नदेखेको बताएका हुन् ।

'न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना मैले देखेको छैन । किनभने तपाईं हामी कति तयार छौं भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीतिक दल पनि सच्चिनुपर्नेछ । न्यायाधीश पनि सच्चिनुपर्ने छ । अधिवक्ताहरु, बार पनि सच्चिनुपर्ने आवश्यक देख्छु,' उनले भने ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरालाई हटाएर यो यो फैसला गराउने भनेर न्यायाधीश, एमिकस क्युरी, एकपक्ष वकिल बसेर तय गरिएको भन्दै यसरी न्यायलय नसच्चिने पनि बताए । 'अस्ति न्यायाधीश, एमिकस क्युरी र एकपक्ष वकिल बसेर जे तय गरेको छ, त्यो विरोधाभाष कुरा भयो । त्यसले कसरी सच्चिन्छ ?' उनले प्रश्न गरे ।  

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । 'यो अभियानलाई पूर्णता दिउ । न्यायलय सुधारका २० प्रतिशत कुरा उठाउनुभयो । १०० प्रतिशत बनाएर आउनुस्,' उनले भने ।

'महाभियोगमा देउवा-प्रचण्ड नै तयार छैनन्'

अध्यक्ष ओलीले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सत्ता गठबन्धन नै तयार नभएको पनि स्मरण गराए । गठबन्धनका एक जना नेता (प्रचण्ड)ले प्रधानन्यायाधीशले कुनै लेनदेन नगरेको, कांग्रेसको कोटाबाटै मन्त्री (गजेन्द्र हमाल) भएको स्पष्टीकरण दिएकाले राजीनामा दिनुनपर्ने तर्क गरेको उल्लेख गर्दै ओलीले भने, 'चोलेन्द्रजी राजीनामा दिन्न । संवैधानिक प्रक्रियाअनुसार जसरी आएको हो त्यसरी नै जान्छु भन्नुहुन्छ । शेरबहादुर जी भन्नुहुन्छ, मलाई प्रधानमन्त्री बनाएको छ, कसरी निकालौं ?'

ओलीले सत्ता गठबन्धन नेता नै तयार नभएकाले कसरी महाभियोग अघि बढ्छ भनेर प्रश्नसमेत गरे । 'तपाईहरुको महाभियोग कसरी दर्ता हुन्छ, उहाँहरुले त कांग्रेसकै कोटाबाट मन्त्री बनेको हो, प्रधानन्यायाधीशले किन राजीनामा गर्ने भनिरहनुभएको छ । गठबन्धनका नेता (प्रचण्ड), प्रधानमन्त्री नै भनिरहनुभएको छ,' ओलीले सोधे ।  

महाभियोगमा एमाले बाधक बनेको भन्ने पारिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, 'हामी पनि बाधक छौं भन्ने परेको छ । केही साथीहरु डबल गेम खेलिरहेको छ । हामी गम्भीर छौं । भित्रबाट भन्ने हो भने मसँग दुइ तिहाइ छैन । एकतिहाइ मात्रै हो । हामी निर्णायक होइन । कोही पनि एक्लै निर्णायक छैन ।'

ओलीले न्यायाधीशहरुको भूमिका स्वच्छ र निष्पक्ष नरहेको भन्दै न्यायलय सच्याउने कुरामा पूर्ण रुपमा आउन वकिलहरुलाई सुझाव दिए । 'न्यायलय सच्चिन जरुरी छ । न्यायिक भूमिका भइराखेको छैन । श्रीमानहरुको भूमिका जस्तो हुनुपर्ने त्यस्तो भएको छैन,' उनले भने ।  

निष्पक्ष र स्वच्छ न्यायलयले मात्रै न्याय दिने भन्दै ओलीले निष्पक्षता कुरा बारले नउठाएको भन्दै गुनासो गरे । न्यायिक क्षेत्र अहिले ध्वस्त भएको भन्दै यस स्थितिबाट न्यायलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आफूहरुले चाहेको बताए । 'अहिलेको अवस्था न्यायिक स्वतन्त्रता दुरुपयोग गरेर आयो । सदुपयोग हुनुपर्‍यो । साच्चै स्वतन्त्र हुनुपर्‍यो । न्यायमूर्ति निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्‍यो । स्वच्छ र नैतिकता हुनुपर्‍यो,' उनले भने ।  

उनले परमादेशको फैसलामा सेटिङ भएको भन्दै असन्तुष्टि पोखे । अमेरिकाबाट न्यायाधीशले संविधानबाट ओलीलाई हटाउन नसक्ने भएकाले आउट अफ ट्रयाकबाट हटाएको इमेल, गठबन्धनका नेताले न्यायाधीशहरुको बचाउ गरेको र मानपदवीबाट विभूषित गरेको घटनाले लेनदेन प्रष्ट भएको उनको दाबी थियो ।

'श्रीमानहरु संविधानबाहिर गएर फैसला गरेको भन्नुहुन्छ यो कुरा कतिको न्यायोचित हुन्छ । म कसै व्यक्तिको स्वार्थका लागि जीवन समर्पण गरेर आएको हैन । लोकतान्त्रिक मूल्य मान्यता हुनुपर्‍यो । न्यायलयले कति ठाउँमा आफ्नो सीमा भत्कायो । बार नाघ्यो ?' उनले प्रश्न गरे ।

'७६ अनुसार प्रधानमन्त्रीलाई बहुमत पुग्छ कि पुग्दैन राष्ट्रपतिले हेर्ने हो । अदालतले परमादेश दिएर संविधान संशोधन गर्ने ? संशोधन गर्न पाइन्छ ? यति गते, बजे गर यस्तो गर भनेर भन्ने हो अदालतले ? विघटन राजनीतिक मुद्दा हो । बहस राजनीतिक भयो । तर फैसला पनि राजनीतिक हिसाबले आयो । राजनीतिक हिसाबले आउनु हुन्थेन । अब सच्याउनु पर्छ । यदि फैसला सहि थियो भने किन लेनदेन गर्नुपर्‍यो । अहिलेको रिफ्लेक्सन सत्ता गठबन्धनले तथाकथित पाएको फैसलाको परिणाम हो । न्यायमूर्तिको ड्राफ्टले नै लेनदेन गरेको खुल्यो,' उनले आक्रोश पोखे ।

ओलीले अधिवक्ताहरुलाई सुझाव पनि दिए, 'तपाईहरुको शैली विद्धानहरुले चलाउने अभियानको खालको हुनुपर्छ । कहिले काहीँ बेग्लै दृश्य देखियो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको