Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको प्यास मेटाउन दोस्राे ‘मेलम्ची’ बन्दै

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १२ : ११ मा प्रकाशित

पोखराको प्यास मेटाउन दोस्राे ‘मेलम्ची’ बन्दै

पोखरामा खानेपानीको प्रमुख स्राेत मर्दी हो । तर, यो पानी पोखरेलीले खासै पिउँदैनन् । बर्खा र हिउँदमा समेत लेदो आउने भएपछि पिउनका लागि योग्य छैन । पानी आपुर्तिका लागि खानेपानी संस्थान कार्यरत छ । यहाँको संस्थानले नेपालभरीमै सबैभन्दा बढी नाफा कमाउँछ । पोखराले मात्र वार्षिक २६ करोडभन्दा बढी राजस्व संकलन गर्छ । तैपनि शुद्ध पानी वितरण गर्न सकेको छैन । अहिले पिउन मिल्ने पानी ल्याउन संस्थानले दीर्घकालीन योजनाअघि सारेको छ । जापान सहयोग नियोग (जाईका) को सहयोगमा मर्दीखोलाको पानीमा ट्रिटमेण्ट प्लाण्ट सञ्चालन भइरहेको छ भने थप नयाँ आयोजनाको खोजी गरिएको छ ।

पोखरा महानगरका ३३ वटै वडालाई पुग्ने गरी मादी खानेपानी गुरुयोजना ल्याएको हो । मादी योजनालाई मेलम्ची आयोजनासँग दाँजिएको छ । ‘मादीबाट पोखराका सबै नागरिकलाई पुग्ने गरी पानी ल्याउन सकिन्छ । यसको अध्ययन सकिएको छैन,’ संस्थानका प्रमुख आशिष कार्कीले भने, ‘अरु स्राेत पनि खोजी भइरहेको छ । एकदुई ठाउँमा रेकी पनि गरेका छौं ।’

उनका अनुसार मादीसँगै हर्पन खोलाबाट पानी ल्याउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । ‘पोखराको जनसंख्या तीव्र रूपमा बढिरहेको छ । पछि हुने पानीको संकटलाई अहिले नै आंकलन गरिएन भने ठूलो समस्या आउन सक्छ,’ उनले थपे, ‘संस्थाले पोखराको जनसंख्या १५ लाख पुग्दासम्म पानी आपुर्ति सहज हुने गरी आयोजना प्रस्ताव गरेको हो ।’

हर्पनको आयोजनामा यही वर्ष डीपीआर सक्ने उनले सुनाए । मर्दी खोलाबाट चालु पाईपको आकार बढाएर पानीको आपूर्ति थप्न लागिएको छ । ‘कन्सल्ट्यान्ट खोजिसक्यौं । त्यसको लागत तयार गरेपछि केन्द्रसँग बजेट माग्छौं,’ कार्कीले भने, ‘मादी, मर्दी र हर्पनको पानी झार्न सके पोखराको प्यास सजिलै मेटाउन सकिन्छ ।’

हर्पन खोलाबाट दैनिक एक करोड लिटर पानी पोखरा ल्याउने संस्थानले जनाएको छ । यो पानी घाँटीछिनामा इन्टेक बनाएर हल्लनचोकमा ल्याउने र त्यहाँबाट वितरण गर्ने प्रस्तावित योजना छ । यो आयोजनाका लागि १२ किलोमिटर मात्र पाइपलाइन विस्तार गरे पुग्छ ।

पोखरामा वार्षिक १६ सयभन्दा बढी नयाँ धारा जडान हुन्छन् । पोखराको संस्थान नेपालमै ठूलोमध्येको पहिलो हो । संस्थानले दैनिक साढे पाँच करोड लिटर पानी वितरण गर्छ । त्यसबाहेक केहीले बोरिङमार्फत पानी वितरण गरिरहेका छन् । मर्दीबाट अझै पानी बढाउन पाइप थप्न लागिएको छ । २४ इन्चको नयाँ पाइप जोडेर पानी आपुर्ति थप्न लागिएको संस्थानका अर्का इन्जिनियर लक्ष्मण पाण्डेले जानकारी दिए ।

‘मर्दीमा अहिले १६ इन्चको पाईपबाट पानी आउँछ । अब २४ इन्च थपियो भने पानीको समस्या तत्कालका लागि हट्छ,’ उनले भने, ‘यो प्रक्रियाअघि बढिसकेको छ ।’ २४ इन्च पाईप विस्तारको लागि ४० देखि ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

संस्थानले मर्दीको पानी विन्ध्यावासिनी झारेर उपभोक्ताको धारामा पठाउँछ । जाईकाले शुद्ध पानी वितरण गर्नका लागि नयाँ पाइपलाई विस्तार गरेको छ । ट्रिटमेण्ट प्लाण्टको ७० प्रतिशत काम सकिएको संस्थानले जनाएको छ । पोखरामा ४५ हजार धारा जडान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको