पूँजी बजारमा देखिएका नीतिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रम आज बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूँजी बजारको संकट र समाधानका सुत्रहरूका विषयमा लगानीकर्ताहरुले एकजुट भएर सामूहिक आवाज उठाएका थिए ।
केही दिनअघिबाट नै सामाजिक सञ्जालमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले पूँजी बजार विरोधीलाई चुनावमा नो भोट भन्ने अभियान चलाइरहेका छन् । पूँजी बजारका समस्याहरूलाई सरकारले बेवास्ता गरेपछि सबै लगानीकर्ताका संगठनहरू एकजुट भएका हुन् । लगानीकर्ताहरूले पूँजी बजारका अहितकार आगामी चुनावमा बहिष्कार भन्ने नारासहित व्यापक रूपमा पूँजी बजार विरोधीहरूलाई नो भोट अभियान चलाएका छन् । यो अभियानमा हजारौँ लगानीकर्ताहरूले साथ र समर्थन गरिरहेका छन् । सामाजिक सञ्जाल मार्फत सरकार र दलहरुलाई सचेत बनाउन कै लागि यो अभियान सञ्चालन गरिएको हो ।
आज आयोजना गरिएको कार्यक्रममा पनि हजारौँ लगानीकर्ताहरू उपस्थित थिए । अगुवा लगानीकर्ताहरू निर्मल प्रधान, अम्बिका प्रसाद पौडेल, छोटेलाल रौनियार, हरि ढकाल, रोहन कार्की, तिलक कोइराला, राधा पोख्रेल, संरक्षणा चौधरी लगायतले आ आफ्ना विचार तथा तर्कहरू पेश गरेका थिए ।
सरकारले लगानीकर्ताका माग नसुनेमा तथा बेवास्ता गरेमा आउँदा दिनहरूमा अन्य आन्दोलनहरू समेत गरिने लगानीकर्ताहरूले सम्बन्धित निकायहरूलाई चेतावनी दिएका छन् ।
आजकाे कार्यक्रममा नेपाली सेयर बजारका बादसाहका रूपमा चिनिने लगानीकर्ता निर्मल प्रधानले अहिले आफूहरूले माग गरिरहेको कुरा आफ्नो अधिकार रहेको बताएका छन् । उनले भने "हामी लगानीकर्ताहरू माग्ने हैन दिने हौँ । हामीले सरकारलाई राजश्व तिरिरहेका छौँ । अहिलेको हाम्रा कुराहरू माग हैन अधिकार हो । यो अधिकार नपाएसम्म हामी निरन्तर लडिरहन्छौँ ।" अहिले बजार कतिले घट्यो कति घट्छ भन्ने कुरा भन्दा पनि बजारको विकासमा सरकार र नियामक कसरी लागिरहेको छ भन्ने जरूरी रहेकाे बताउँदै उनले नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि आफूलाई खासै फरक नपर्ने बताएका छन् ।
त्यस्तै, सेयर विश्लेषक एवमं उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले नियतबश सेयर बजार घटाउनकै लागि नीति ल्याउनेप्रति विरोध गरिएको तथा असहमति जनाइएको बताएका छन् । बजारलाई सधैँभरी स्वतन्त्र ढंगले चल्न दिनुपर्ने उनले बताए । नियामक निकायहरूले एकपछि अर्को गर्दै प्रहार गरेका नीतिहरूले गर्दा आमलगानीकर्ताहरूको सम्पत्ति असुरक्षित बनेको उनले बताएका छन् ।
कार्यक्रममा बाेल्ने क्रममा सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगर्न लगानीकर्ताहरूलाइ आग्रह गरेका छन् । छलफल कार्यक्रममा संघ संगठनबाट हटेर आफ्नो व्यक्तिगत विचार राख्दै उनले बहिष्कारको नीतिभन्दा पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताएका छन् । बहिष्कारको काम नगरिकन सबैजना मिलेर अगाडि बढ्दा सबै नियामक निकायहरूले सुन्ने उनले बताए । कार्यक्रममा बोल्ने क्रममा उनले लगानीकर्ताहरूको अहिलेको आन्दोलनमा आफ्नो पनि साथ र समर्थन रहेको बताएका छन् । आफ्नो शरिरमा सास भएसम्म आफू लगानीकर्ता साथीहरूका लागि पछि नहट्ने उनी बताउँछन् ।
सेयर लगानीकर्ता दवाब समूहका संयाेजक हरि ढकालले पूँजी बजारको लागि आजसम्म पनि स्थायी नीति नआएकोले आन्दोलन गर्नु जरूरी रहेकाे बताएका छन् । नेपालले आजसम्म एक जना पनि पूँजीबजार बुझेको अर्थमन्त्री नपाएको भन्दै उनले चुनावी घोषणापत्र मै पूँजी बजारको विषय समेटर चुनावमा आउन अनुराेध गरेका छन् । पूँजी बजार बुझेको अर्थमन्त्रीले पूँजी बजारको लागि स्थायी नीति बनाईदिएको भए आन्दोलन गर्नुपर्ने अवस्था नै नआउने उनी बताउँछन् ।
उक्त कार्यक्रममा बाेल्दै स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष राेहन कार्कीले "नाे भाेट" अभियान कुनै राजनीतिक दलप्रति लक्षित नभई पूँजी बजारकाे बेवास्ता गर्नेहरूप्रति केन्द्रि रहेकाे बताएका छन् । अहिले पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई सरकारले दोस्रो दर्जाको नागरिक सरहको व्यवहार गरिरहेको उनी बताउँछन् । सकेसम्म सभ्य हिसावले कार्यक्रम गर्ने र यसाे गर्दा पनि सुनुवाई नभए जस्ताेसुकै कदम उठाउन पनि पछि नहट्ने उनले बताए । पूँजी बजारकाे विकास र विस्तारका लागि सबै लगानीकर्ता संयुक्त रूपमा लागिरहने उनले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस