Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको भविष्यबारे संघ र नेप्से प्रमुखबीच के भयो कुराकानी?

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ०८ : ०३ मा प्रकाशित

सेयर बजारको भविष्यबारे संघ र नेप्से प्रमुखबीच के भयो कुराकानी?

नेपालको सेयर बजारमा सक्रिय तीनवटा लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (CEO) चुडामणि चापागाईंसँग भेटवार्ता गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सेयर लगानीकर्ता संघ नेपाल का कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, पुँजीबजार लगानीकर्ता संघ का महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघ का अध्यक्ष डिल्लीश्वर कार्की (रोहन) सहितको टोलीले नेप्से प्रमुखसँग भेट गरेका हुन्।

संघहरुले एक संयुक्त शुभकामना पत्रमार्फत सीईओ चापागाईंलाई बधाई दिंदै उनको नेतृत्वमा समग्र नेपाली पुँजीबजार प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, पारदर्शी र विश्वासिलो बनाउने विश्वास व्यक्त गरेका छन्।

शुभकामना पत्रमा भनिएको छ, “यहाँको कार्यकालमा पारदर्शिता, प्राविधिक आधुनिकीकरण, संस्थागत सुशासन र लगानीकर्तामैत्री वातावरणको प्रवर्द्धन हुने, साथै बजारमा दीर्घकालीन स्थायित्व र लगानीकर्ताको विश्वास अभिवृद्धिमा ठोस परिणाम आउने हाम्रो अपेक्षा रहेको छ।”

त्यस्तै, नीति स्पष्टता, प्रभावकारी नियमन र नवीनतम प्रविधिको प्रयोगमार्फत सेयर बजारमा गुणात्मक सुधार आउने संघहरुको आशा छ।

संघहरुले देशका सबै भूगोल र वर्गका नागरिकसम्म पुँजीबजारको पहुँच विस्तार होस्, लगानीकर्ताको हक–हितको संरक्षण होस्, र नेपालको आर्थिक समृद्धिमा पूँजीबजारले अझ प्रभावकारी योगदान पुर्‍याओस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।

पुनर्संरचना र सुधार प्रक्रियामा आशा

नेप्सेको पुनर्संरचना प्रक्रिया लामो समयदेखि चर्चामा रहेपनि हालैका निर्णयले यसमा गति लिएको भन्दै संघहरुले निजी क्षेत्रको सहभागिता, पूँजी वृद्धिको योजना र संस्थागत सुधारमार्फत नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउने पहललाई स्वागत गरेका छन्।

त्यस्तै, यस प्रक्रियामा देखिएका विवाद र चुनौतीलाई सम्बोधन गर्दै कार्यान्वयनमा सफलता मिलोस् भन्ने शुभकामना समेत दिएका छन्।

संघहरुले पुँजीबजारको राष्ट्रको अर्थतन्त्रमा भएको योगदानको चर्चा गर्दै नेप्से मार्फत हुने कारोबारले सरकारले पूँजी लाभकर, लाभांश कर, व्यापार कर लगायत विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ राजस्व संकलन गर्दै आएको उल्लेख गरेका छन्।

उदाहरणस्वरूप, आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा मात्र पुँजीबजारबाट करिब १६ देखि १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको तथ्य प्रस्तुत गरिएको छ।

नेप्सेले प्रविधिमा आधारित, पारदर्शी र सुरक्षित कारोबार प्रणालीमार्फत लगानीकर्तालाई औपचारिक प्लेटफर्म मात्र नभई, सूचीबद्ध कम्पनीहरूको निगरानी, सूचना पारदर्शिता र बजार स्थायित्व कायम गर्न समेत उल्लेखनीय भूमिका खेलेको संघहरुको धारणा छ।

संघहरुले नेप्सेको सफल नेतृत्वमा नेपाली पुँजीबजार अझ सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गर्दै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको