Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १६ : ३९ मा प्रकाशित

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पश्चात् नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ ।

नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो । खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ । वर्ल्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्याउनको लागि सहयोग पुग्ने विश्वास छ । २५ वर्षअघि स्थापना भएको वर्ल्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।

‘वर्ल्डलिंकले नेपालको शहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा ईन्टरनेटको सेवा विस्तार गरिरहेको छ,’ वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, ‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा साबित हुनेछ ।’

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुर्याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

स्वदेशी लगानीकर्ताले स्वदेशी स्टार्टअपमा लगानी गरेको यो उदाहरण आगामी दिनमा अन्य लगानीकर्ता र उदाउँदा स्टार्टअपको लागि आशाको संकेत भएको अग्रवालको टिप्पणी छ । ‘यसले नवीन सोचसहित नवीन काम गरिरहेका स्टार्टअपहरुको लागि स्वदेशमै लगानी जुटाउन सकिने विश्वास बढाउँनेछ,’ अग्रवालले भने,‘डिजिटल नेपालको लक्ष्य साकार पार्न सहयोग पुर्याउने नवीन सोचहरुलाई सघाउन वर्ल्डलिंक सधैँ तत्पर रहनेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको