नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।
कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिव ५ सय जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरेका छन् । उक्त कार्यक्रममा देशभरबाट आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए । यसैगरी अभिकर्ता सञ्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप व्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्य लक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशैभरी रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता वृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरेका छन् । उनले कम्पनीको हालसम्मको समग्र वित्तिय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले एक नँया बीमालेख जीवन सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै सो नँया बीमा योजनाबाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ती पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउदै कम्पनीको व्यवसायिक उचाई अझ नँया ठाँउमा पुर्याउने प्रतिवद्धता व्यक्त भएका थिए । उपस्थित लिडरहरुको कार्यक्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ मुम्बई, इन्डियास्थित सुप्रसिद्ध प्रशिक्षक श्री विजय कुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस