तरलता भनेकाे वित्तीय संस्थाहरूसँग नगद उपलब्धताको अवस्था हाे । तरलतालाई तुरून्त लगानीयाेग्य पूँजीका रूपमा पनि बुझ्ने गरिन्छ । तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता पनि हो ।
वैधानिक तरलता अनुपात भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात (Statutory Liquidity Ratio) हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।
स्थायी तरलता सुविधा भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।
तरलता अनुगमन तथा प्रक्षेपण संरचना (Liquidity Monitoring And Forcasting Framework-LMFF) भनेको के हो ?
सरकारी वित्त स्थिति, विदेशी विनिमय कारोबार, खुला बजार कारोबार लगायतका विवरणहरूको आधारमा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता अनुगमन तथा प्रक्षेपणका लागि प्रयोग गर्ने संरचना नै तरलता अनुगमन तथा प्रक्षेपण संरचना हो ।
तरलता प्रवाह र प्रशोचन गर्न कुन कुन उपकरणहरू छन् ?
तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस