Like us!
Follow us!
Connect us!
Watch us!

नबिल र नेपाल बङ्गलादेश बैंककाे मर्जर कमिटी गठन, ५ कम्पनीको सेयरमूल्य समायोजन (भिडियो)

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, २० : ४० मा प्रकाशित

आज (पौष १६ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. अघि बढ्याे नबिल र नेपाल बङ्गलादेश बैंककाे मर्जर प्रकृया : मर्जर कमिटी गठन

बजारमा धेरै अघिदेखि हल्ला चलेकाे नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे मर्जर प्रकृया अन्तत: अघि बढेकाे छ । दुवै बैंककाे मर्जरका लागि संयुक्त मर्जर कमिटी गठन गरिएकाे छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । उक्त समितिले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ । नबिल बैंकमा नेपालको चौधरी समूहको लगानी छ । नेपाल बंगलादेश बैंकमा भने बंगलादेशको आईएफआईसी बैंकको शेयर लगानी छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गतवर्षदेखि नै नेपाल बंंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर, त्यसमा विभिन्न अवरोध आइरहेको थियो । अहिले राष्ट्र बैंकले त्यो अवरोध हटाएक छ । अहिले आईएफआईसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरेर बाहिरिने तयारीमा छ । चौधरी समूहले सोही सेयर किनेर बैंक नै नबिल बैंकसँग गाभ्ने तयारी गरेका थिए ।

२. नेप्सेमा नबिल बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष १६ गते, शुक्रबार) विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपसेमा नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे हाे । नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । हिमालयन डिष्टीलरीकाे ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार ९ सय २५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६ हजार ८ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । गुडविल फाइनान्सकाे ९.१० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३३ रूपैयाँ ४६ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६२ रूपैयाँ ९६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

३. सहकारीको ब्याजदर तत्काल नबढाउन रजिष्ट्रारलाई दबाब

सहकारीको सन्दर्भ ब्याजदर तत्काल नबढाउन सहकारी विभागका रजिष्ट्रारलाई दबाब बढेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर बढ्न नदिएको भन्दै विभागले पनि सहकारीको ब्याजदर बढाउन नहुने भन्दै रजिष्ट्रारमाथि दबाब बढेको हो । सहकारी ऐनको व्यवस्था अनुसार रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण कमिटी रहने व्यवस्था छ । याे समितिले निर्धारण गरेको ब्याजदर नै सहकारीका लागि ऋणको व्याजमा सीमा हुने प्रावधान छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभावसँगै ब्याजदर पनि पुनरावलोकन गर्न सहकारीकर्मीहरूले रजिष्ट्रारलाई दबाब दिँदै आएका थिए । सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न बिहीबार बैठक त बस्यो, तर समितिमा सदस्य रहेका नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायतका प्रतिनिधिहरूले ब्याजदर बढाउने आधार नभएको बताएपछि निर्णय भने हुन सकेन ।

४. स्वावलम्बन लघुवित्तको बीसौं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएकाे छ । सञ्चालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

५. घलेम्दी हाइड्रोकाे साधारणसभा सम्पन्न, दाेहाेरिए पुरानै सञ्चालक

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा सेयरधनीहरुलाई अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी गराइएको थियो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष किशाेर सुवेदीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिएकाे छ । सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्याे । कम्पनीकाे सञ्चालक समितिमा पुरानै सञ्चालकहरू दाेहाेरिएका छन् । कम्पनीको सञ्चालकमा यसअघि सञ्चालक रहेका नारायणबाबु अधिकारी, उत्तमप्रसाद वैद्य, प्रमोद श्रेष्ठ र टंकप्रसाद बरूवाल पुनः छानिएका छन् ।कम्पनी सचिव अनिल पौडेलले सञ्चालन गरेका उक्त सभामा शेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल लगायतले आफ्ना भनाई राखेका थिए ।

६. ६ सयले बढ्याे सुनकाे भाउ, १५ रूपैयाँले बढ्याे चाँदी

शुक्रबार सुनकाे मूल्य ताेलामा ६ सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ७ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ६० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको