Like us!
Follow us!
Connect us!
Watch us!

कस्ता संस्थाले कर छुट पाउँछन्  ? कसरी दिने निवदेन ?

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १३ : ४७ मा प्रकाशित

कस्ता संस्थाले कर छुट पाउँछन्  ? कसरी दिने निवदेन ?

हामीमध्ये कतिपयलाई कर छुट पाउने संस्थाहरुको बारेमा जानकारी नहुन सक्छ । त्यसैले आज हामी यहाँ सोही विषयमा कुरा गर्नेछाैँ । 

कस्ता संस्थाहरुलाई कर छूट हुन्छ ?

तल उल्लेख गरे बमोजिमका संस्थाहरुलाई कर छूट हुन्छ :

१. आन्तरिक राजस्व विभागबाट कर छूट पाउने संस्थाको प्रमाणपत्र पाएका नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक, परोपकारी संस्था, सदस्यहरुले लाभ नलिने गरी सामाजिक वा खेलकुद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी संस्था ।

२. आयकर ऐन, २०५८ ले आयकर छुट हुने संस्थाका रुपमा परिभाषित गरेका निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल ।

कर छूट हुने संस्थाको जुनसुकै आयमा पनि कर छूट हुन्छ ?

कर छूट हुने संस्थाको कर नलाग्ने आय जस्तै संस्थाको उद्देश्यमा सहयोग पुर्याउन प्राप्त गर्ने चन्दा, उपहार, अनुदान, सदस्यता शुल्क वा सरकारी/गैर सरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा मात्र कर छुट हुन्छ । तर अरु व्यवसाय वा लगानी गर्ने करदाता झैं व्यवसाय वा लगानी गरेमा (जस्तै ब्याज वा घर भाडा आर्जन गरेमा) सोमा कर लाग्दछ ।

कर छूट हुने संस्थाले प्राप्त गर्ने कुन-कुन रकममा छूट हुन्छ ?

कर छूट हुने संस्थाले प्राप्त गर्ने कर नलाग्ने रकम जस्तै संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउन लिइएको चन्दा, उपहार, अनुदान, आर्थिक सहायता, सदस्यता शुल्क वा सरकारी तथा गैरसरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा कर छुट हुन्छ ।

कर छूट हुने प्रमाण पाउन कुनै संस्थाले के-के गर्नुपर्दछ ? यस्ताे निवदेनमा कुन-कुन विवरण खुलाउनु पर्दछ ? के-के कागजात पेश गर्नुपर्छ ?

कर छूट हुने प्रमाण पाउन सम्बन्धित इच्छुक संस्थाले कर छूटको लागि आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुमा निवदेन दिनु पर्दछ । यस्तो निवेदनमा इच्छुक निकाय, संघ वा संस्थाको नाम, PAN, सम्बन्धित निकायमा दर्ता भएको दर्ता नम्बर, ठेगाना, उद्देश्य, कृयाकलाप संचालन गर्ने स्थान, संस्थाको अध्यक्ष वा मुख्य व्यक्तिको नाम, पद, ठेगाना, संस्थाको आयश्रोत सम्बन्धी विवरण बारे उल्लेख गर्नु पर्दछ ।

कर छूट हुने प्रमाण पाउन इच्छुक संस्थाले निवेदनका साथ निम्न कुराहरू पेश गर्नुपर्नेछ :

(क) संस्थाको गठन सम्बन्धी विधान

(ख) अन्य कुनै निकायबाट स्वीकृति लिनु पर्ने भए स्विकृती भएको प्रमाणपत्रको प्रतिलिपि

(ग) PAN को प्रमाणपत्रको प्रतिलिपि

(घ) लेखा परीक्षणको प्रतिवेदन भए सोको प्रतिलिपि पेश गर्नु पर्दछ ।

कर छूट पाउने संस्थाले के आन्तरिक राजस्व विभागमा दर्ता हुनुपर्छ ? दर्ता प्रमाणपत्र वर्षेनी नविकरण गर्नुपर्छ ?

कर छुट पाउने संस्थाले आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुबाट स्थायी लेखा नम्बर लिनु पर्दछ । दर्ता प्रमाणपत्रको वर्षेनी आय वर्ष समाप्त भएको मितिले ६ महिना भित्र नविकरण गराउनु पर्दछ । संस्थाको वित्तीय विवरणहरु वार्षिक रुपमा दाखिला गर्नुपर्दछ । साथै अग्रिम कर कट्टी गरेको विवरण र कर रकम समयमा दाखिला गर्नु पर्दछ । आयकर लाग्ने कारोबार गरेको भए आय विवरण र कर रकम पनि ३ महिना भित्र दाखिला गर्नु पर्दछ । 

कर छूट पाउन दिइने निवेदनसाथ कति दस्तुर बुझाउनु पर्दछ ?

कर छूट पाउने निवेदन साथ कुनै दस्तुर बुझाउनु पर्दैन ।

कर छूट पाउने संस्थाले प्यान लिनु पर्छ कि पर्दैन ?

कर छूट पाउने संस्थाले यस्तो छुट पाउन निवेदन दिनु अगावै स्थायी लेखा नम्बर (PAN) लिई सक्नु पर्दछ ।

कर छूट संस्थाको रुपमा स्वीकृति लिन कहाँ सम्पर्क गर्नुपर्छ ?

कर छूट संस्थाको रुपमा स्वीकृति लिन आफूले स्थायी लेखा नम्बर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा सम्पर्क राख्नु पर्दछ ।

घरमै बसेर कर छुट पाउने संस्थाकाे प्रमाण लिन पाउने सुविधा छ, छैन ?

कर छूट पाउने संस्थाको लागि आवश्यक निवेदनको ढाँचा इन्टरनेटबाट विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ तर निवेदन आफूले स्थायी लेखा नम्बर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा पेश गर्नु पर्दछ । 

(श्राेत : आन्तरिक राजस्व विभाग)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको