Like us!
Follow us!
Connect us!
Watch us!

अग्रिम कर कट्टी के हाे ? कुन-कुन भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ?

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १४ : २६ मा प्रकाशित

अग्रिम कर कट्टी के हाे ? कुन-कुन भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ?

कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ ।

कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलाई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालाई भुक्तानीमा कर कट्टी भनिन्छ । अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ । यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टी हुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax पनि भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालार्ई Pay As You Earn (PAYE) समेत भनिन्छ । यस प्रणालीले गर्दा सरकारलार्ई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।

अग्रिम कर कट्टी कुन-कुन भुक्तानीमा गर्नुपर्दछ ?

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा उल्लेख भए अनुसार लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवा शुल्क, ठेक्का पट्टा (Contract) आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदाका अवस्थामा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दर अनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलार्ई भुक्तानी गर्नु पर्दछ । यस्तो कर कट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । उदाहरणको लागि कुनै बासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलार्ई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नुपर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले सामान्यतया तल उल्लिखित भुक्तानीहरुमा अग्रिम कर कट्टी गर्नु पर्दछ ।

क्र.सं.

भुक्तानी (आय) को किसिम

अग्रिम कर कट्टी गर्ने व्यक्ति

ऐनको दफा

नेपालमा स्रोत भएको रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको पारिश्रमिक

पारिश्रमिक भुक्तानी गर्ने बासिन्दा रोजगारदाता

८७(१)

नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री बोनस र अवकाश भुक्तानी           

भुक्तानी गर्ने बासिन्दा व्यक्ति

८८(१)

ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी

भुक्तानी गर्ने बासिन्दा व्यक्ति

८९(१)

आकस्मिक लाभ बापतको रकमको भुक्तानी

भुक्तानी दिने व्यक्ति

८८क.(१)

 

अग्रीम कर कट्टी कसले गर्नुपर्दछ ?

अग्रीम कर कट्टी गर्नुपर्ने कुनै पनि भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

इन्टरनेटबाट अग्रीम कर कट्टी सम्बन्धी विवरण बुझाउने सुविधा छ छैन ? E-TDS गरेमा साे प्रमाणित कहाँबाट हुन्छ ?

इन्टरनेटबाट पनि अग्रिम कर कट्टी विवरण बुझाउने सुविधा छ । सोका लागि पहिलो एक पटक सम्बन्धित कार्यालयबाट गोप्य संकेत (Password) प्राप्त गर्नुपर्दछ । e-TDS गरेमा सम्बन्धित कार्यालयबाट प्रमाणित गराउनु पर्दछ ।

(श्राेत : आन्तरिक राजस्व विभाग)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको