Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीगत खर्च न्यून

पत्रपत्रिका

आइतबार, ०२ माघ २०७८, ०८ : ०८ मा प्रकाशित

पुँजीगत खर्च न्यून

चालू आर्थिक वर्षको पहिलो छ महिनामा पुँजीगत खर्च जम्मा ११ दशमलव ५६ प्रतिशत मात्र भएको छ। आव २०७८/७९ का लागि चार खर्ब ३९ अर्ब ६५ करोड नौ लाख रूपैयाँ पुँजीगत खर्च बिनियोजन गरिएकामा साउनदेखि पुस मसान्तसम्ममा ५० अर्ब ८० करोड ८० लाख रूपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

केही महिनायता अर्थ मन्त्रालयले पुँजीगत खर्च बढाउन विशेष प्रयास गरिरहेको भए पनि अपेक्षित रूपमा बढ्न सकेको छैन। पुँजीगत खर्च हुन नसक्दा तरलताको अभाव भएको, विकासका काम सुस्त भएको भन्दै आलोचना बढ्न थालेपछि अर्थमन्त्री जनार्दन शर्माले सबै मन्त्रालयलाई पुँजीगत खर्च बढाउने गरी काम गर्न बारम्बार निर्देशन दिँदै आएका छन् । अर्थ मन्त्रालयमा मंगललबार आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवलाई बाँकी छ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका थिए ।

चालू खर्च साढे ४० प्रतिशत

पुँजीगत खर्च कम भए पनि चालू खर्च भने लक्ष्यको करिब साढे ४० प्रतिशत भएको छ । पुस ३० गतेसम्मको तथ्याङ्कअनुसार चार खर्ब छ अर्ब ४१ करोड रुपैयाँ चालू खर्च भएको छ। त्यस्तै चालू आर्थिक वर्षको छ महिनामा वित्तीय खर्च ४९ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ भएको छ। यो लक्ष्यको करिब २६.१२ प्रतिशत हो। समग्रमा आर्थिक वर्ष मध्यावधिसम्मको खर्चलाई हेर्दा करिब ३१ प्रतिशत मात्र खर्च भएको छ। चालू आर्थिक बर्षको कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपियाँ रहेकामा छ महिनाको अवधिमा कुल पाँच खर्ब छ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ।

झन्डै ४६ प्रतिशत राजस्व सङ्कलन

राजस्व सङ्कलनको लक्ष्य भने ४५.२१ प्रतिशत हासिल भएको छ। चालू आर्थिक वर्षको मध्यावधिसम्ममा पाँच खर्ब १२ अर्ब पाँच करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालू आर्थिक वर्ष राजस्व सङ्कलनको लक्ष्य भने ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँभन्दा बढीको छ। पुससम्ममा संकलित राजस्वमध्ये कर चार खर्ब ९३ अर्ब ९९ करोड २९ लाख रुपियाँ रहेको छ भने गैरकर राजस्व ४८ अर्ब छ करोड १६ लाख रुपियाँ रहेको छ। सरकारले यो अवधिमा विभिन्न क्षेत्रबाट प्राप्त अनुदान जम्मा १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ रहेको छ। यो लक्ष्यको जम्मा २३.१७ प्रतिशत मात्र हो। सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख रूपैयाँ अनुदानको लक्ष्य राखेको छ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको