Like us!
Follow us!
Connect us!
Watch us!

सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या कायमै

पत्रपत्रिका

सोमबार, १० माघ २०७८, ०८ : ०२ मा प्रकाशित

सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या कायमै

कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लगाए । उनले भने, “अहिले बजारमा सिटामोल अभाव होइन, औषधि उत्पादक उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन सरकारलाई बाध्य पार्ने खेल हो । ”

औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् ।

नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएका छन् ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले कोभिड–१९ सङ्क्रमण बढेकाले एकै पटक पारासिटामोल र सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको स्वीकार गर्नुभयो तर पारासिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उनको दाबी छ ।

अध्यक्ष पाण्डेले सरकारी कम्पनीका अतिरिक्त स्वदेशी निजी ३०/३२ वटा कम्पनीले पारासिटामोल उत्पादन गर्ने गरेको र पछिल्लो तीन दिनयता ५० लाख ट्ब्यालेट पारासिटामोल बजारमा पठाइसकेको र औषधिको अद्यावधिक अवस्था औषधि व्यवस्था विभागलाई उपलब्ध गराइरहेको जानकारी दिए ।

निजी व्यवसायीले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत मात्रै पारासिटामोल उत्पादन गरेको भन्दै उनले भने, “पारासिटामोलको मूल्य भारतमै एक चक्कीको दुई रुपियाँ १५ पैसासम्म पर्छ तर सरकारले नेपालमा यसलाई १४ वर्षदेखि एक रुपियाँ मूल्य तय गरेको छ र त्यही मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। ”

सरकारी स्वामित्वको नेपाल औषधि उद्योगले भने बजारमा सिटामोल अभाव भएपछि पछिल्लो दुई दिनमा छ लाख ट्याब्लेट बजारमा पठाएको जनाएको छ । लामो समय बन्द भएर तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको यो उद्योगले सरकारले निःशुल्क वितरण गर्ने सिटामोल उत्पादन गर्दै आइरहेको छ । उद्योग पुनः सञ्चालनका लागि सरकारले छ करोड रुपियाँ अनुदान दिएको थियो ।

उद्योग पुनः सञ्चालनपछि यसले वार्षिक २३ लाख चक्की सिटामोल मात्र बिक्री गरेको तथ्याङ्क छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक महम्मद सफिउल्लाहले बढी बिरामीको चाप हुने अस्पतालका औषधि बिक्री कक्षमा शुक्रबार, शनिबार र आइतबार सिधै सिटामोल पु-याइएको जानकारी दिए । सो कम्पनीका अनुसार ३३ लाख ट्ब्यालेट बनाउन कच्चा पदार्थ तयारी अवस्थामा रहेको र थप कच्चा पदार्थ आयातका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

औषधि लिमिटेडले झन्डै दुई करोड ट्ब्यालेट माग आउने अनुमान गरी सोहीअनुसारको योजना बनाई छ महिनामा ८० लाख ट्ब्यालेट बनाएको जनाएको छ । प्रतिट्ब्यालेट एक रुपियाँ ३० पैसा लागत लागे पनि सरकारले एक रुपियाँ मूल्य निर्धारण गरेकाले नोक्सान भए पनि उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सिटामोल बजारमा गइरहेकाले मङ्गलबारसम्म सहज हुने दाबी गरेका छन् । अहिले बजारमा सिटामोलको अभाव हुनुको मुख्य समस्या ‘सप्लाइचेन’मा भएको चर्चा गर्दै उनले भने, “औषधि बजारमा पर्याप्त गएर पनि किन पाइँदैन भनेर हामीले अनुगमन गरेका छौँ, अनुगमनका क्रममा क्यास तिरेर सिटामोल किन्ने औषधि पसलमा छ, जसले बाँकी सिटामोलको माग गर्छ त्यसकामा पाइँदैन।

अहिले ठूला अस्पताल परिषद्मा सञ्चालित फार्मेसी र वरपरका औषधि पसलमा सिटामोल पाइन्छ । दुई-दुई दिनपछि सबै ठाउँमा सहज हुने उनको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र औषधि व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले शनिबार पनि अनुगमन गरेर सिटामोल लुकाउने तीनवटा औषधि पसललाई जरिवाना गरेको जनाएको छ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको