वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार गरिएको छ ।
केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचना के कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनको प्रारूपबारे गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च पदाधिकारीहरूसँग स्वप्न बगैँचामा ब्रिफिङ’ भएको थियो । ब्रिफिङमा केशर महलको दक्षिणतर्फको स्वप्न बगैँचा विकास समितिलाई अब केशर महल विकास समिति बनाउने र सोमार्फत व्यापारिक कार्यमा भौतिक पूर्वाधार प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको छ ।
स्वप्न बगैँचाले आठ रोपनी क्षेत्रफल चर्चिएको छ भने केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।स्वप्न बगैँचा विकास समितिले डाकेको बैठकमा उपस्थित शिक्षा मन्त्रालयका एक सहसचिवले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “नारायणहिटी दरबारको कुरा विवादमा आइरहेको छ, त्यसैले यो विषय थन्क्याउनूस् भनेर हामीहरूले भन्यौँ तर विकास समितिका पदाधिकारीहरूले नारायणहिटी र केशर महलको प्रसङ्ग फरक हो भनेर कुतर्क गरेरै जित्न खोजे ।”
गोरखापत्र दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस