पछिल्लो समय सेयर बजार लगातार रुपमा घटी रहेको छ । नेपाल राष्ट्र बैंकले गर्नु पर्ने सबै सुधारका कामहरु गरिसकेको छ । तर पनि सेयर बजारले सोचेजस्तो गति लिन सकेको छैन । लगानीकर्ताहरुले बारम्बार भन्दै आएको विषयहरुमा नेपाल राष्ट्र बैंकले गर्नु पर्ने सबै काम गरिसकेको छ । व्यक्तिगत तर्फको सेयर धितो कर्जाको सीमा २५ करोड पनि राष्ट्र बैंकले हटाइ सकेको छ । राष्ट्र बैंकले गर्नु पर्ने सबै सुधारका कामहरु गरेपछिको पहिलो कारोबार दिनको कारोबार समयमा सेयर बजारमा सकारात्मक सर्किट समेत लागेको थियो । त्यस पछि भने बजारले गति लिन सकिरहेको छैन । कारोबार रकम र परिसूचक दुवैमा लगातार रुपमा गिरावट आइरहेको छ ।
पछिल्लो समय सेयर बजार बढ्न नसक्नुको कारण राजनीतिक अस्थिरतालाई लिइएको छ । घटबढ बजारको सुन्दरता हो । तर, लगातारको गिरावटले लगानीकर्ताहरु अहिले निराश देखिएका छन् । जेनजी आन्दोलन बनेको सरकारसँग आम लगानीकर्ताको अपेक्षा रहेको भए पनि सो अनुसारका कामहरु हुन नसक्दा पुँजी बजारमा त्यसको असर परेको जानकारहरुको भनाइ छ । अहिले पुँजी बजारमा मात्रै होइन समग्र क्षेत्रमा नै लगानी सुरक्षाको चुनौति रहेको अर्थविदहरुले भन्दै आएका छन् । केही सुधार मात्रैले बजारलाई गति दिन नसक्ने उनीहरुको भनाइ छ । लगानीकर्ताहरुले भने बजार निरन्तर रुपमा घट्नुमा लगानीकर्ताको मनोबल बढ्न नसक्नुलाई कारण मानिरहेका छन् ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजारका लागि आवश्य पर्ने सबै सूचक सकारात्मक हुँदा पनि राजनीतिक अस्थिरताका कारणले गर्दा बजार बढ्न नसकेको बताए । राजनीतिक अस्थिरताले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको उनको भनाइ छ । चुनवा हुन्छ भन्ने निश्चित नभएको र फेरि आन्दोलन हुन्छ कि भन्ने आशंक लगानीकर्तामा रहेको उनले बताए । अहिलेको अवस्थामा बजार ३२०० भन्दा माथि पुग्नु पर्ने भए पनि राजनीतिक अस्थिरताका कारणले बढ्न नसकेको उनको भनाइ छ । ‘अहिले सेयर बजारका लागि सबै सूचकहरु सकारात्मक रहेको अवस्था छ । पहिले पनि यस्तै अवस्थामा बजार ३२०० को विन्दुमा पुगेको हो । यो समयमा पनि पुग्नुपर्ने हो,’ उनले भने । लगानीकर्ताको मनोबल बढाउनका लागि सरकारले स्थिरताको सुनिश्चितता गर्नु पर्ने उनको भनाइ छ ।
राष्ट्र बैंकले गर्नु पर्ने सबै काम गरिसकेको र सेवोनले गर्नु पर्ने सुधारका कामहरु पनि विस्तार हुने उनको अपेक्षा छ । अहिले बजारमा प्रशस्त मात्रामा तरलता रहेको छ । ब्याजदर पनि तल्लो विन्दुमा नै रहेको अवस्था छ । सेयर बजार अहिलेसम्मको उच्च विन्दु ३२०० को नजिक पुगेको समयमा पनि बजारमा अधिक तरलताको अवस्था थियो भने ब्याजदर पनि कम नै रहेको थियो ।
सेयर विश्लेषक मुक्ति अर्याल पनि बजार बढ्न नसक्नुको कारण राजनीतिक अस्थिरतालाई मान्छन् । उनले अहिले बजारमा आर्थिक माहोला राम्रो नभएकाले लगानीकर्ताहरुको मनोबल बढ्न नसकेकाले बजारले गति लिन नसकेको बताए । अहिले लगानीकर्ताले स्थिरता खोजिरहेको र स्थिरता हुने वित्तिकै बजार बढ्ने अर्यालको भनाइ छ । अहिले चुनाव हुने निश्चितता र अब फेरि हुलदंगा हुँदैन भन्ने निश्चितता भएको खण्डमा बजार बढ्ने उनले बताए । ‘अहिले लगानीकर्ताको मनोबल कमजोर छ । चुनाव हुने कुराको पनि सुनिश्चितता छैन । चुनाव हुने निश्चित भएर हुलदंगा हुँदैन भन्ने कुरामा आस्वस्त भएको अवस्थामा बजार बढ्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस