आज (माघ १४ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।
१. लगानीकर्तालाई लगानीको अवसर : माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै जाल्पा सामुदायिक लघुवित्त
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २ सय २० कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
२. एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, १० प्रतिशत बोनस दिने
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो (माघ १३ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
३. एकदिनमै ७ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियोमा सामान्य सुधार
बैंकहरूको निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेको छ । माघ १२ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५१ अर्ब रूपैयाँ रहेकोमा एक दिनै बैंकहरूको निक्षेप ७ अर्बले बढेर माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । निक्षेप बढेपनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा भने कुनै पनि परिवर्तन भएको छैन । माघ १२ गते ४६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा १३ गतेसम्म पनि उक्त रकममा कुनै परिवर्तन नभएको राष्ट्र बैंकले जनाएको छ । माघ १२ गतेसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६० प्रतिशत रहेकोमा १३ गतेसम्ममा घटेर ९०.४८ प्रतिशत पुगेको छ ।
४. अजोड इन्स्योरेन्सले डाक्यो साधारणसभा, लगानीकर्ताकाे हात खाली
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चाैँथाे वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा फागुन ६ गते शुक्रबार युनाईटेड वल्ड ट्रेड सेन्टर ञिपुरेश्वर काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।
५. अघि बढ्यो अभियान लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यको लागि अभियान लघुवित्तका का।मु। प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
६. १५ प्रतिशत बोनस पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारण सभा, माघ २४ गतेदेखि बुकक्लोज
जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको २५ औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल प्रा।लि।, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. समिट लघुवित्तको नाफामा १०० प्रतिशतको उछाल, १२ रुपैयाँले बढ्यो ईपीएस
समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ५० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १००.२८ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड २४ लाख ८१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ८१.५९ प्रतिशतले र सञ्चालन मुनाफा पनि १०२.३० प्रतिशतले बढेकाे छ । संस्थाको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ३० लाख २५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रूपैयाँ ८९ पैसाले बढेर ३४ रुपैयाँ ४४ पैसा पुगेकाे छ । संस्थाको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा रहेको छ ।
८. बीमा समितिको कारबाहीमा नेपाल लाइफ, जानीजानी नियम उल्लङ्घन गरेको आरोप !
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा समितिको कारबाहीमा परेकाे छ । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई दश हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको हाे ।
९. ९ सयले घट्याे सुनकाे भाउ, २५ रूपैयाँले घट्याे चाँदी
शुक्रबार सुनकाे मूल्य ताेलामा ९ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा २५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ६५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस