Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली नोटको बिगबिगी

पत्रपत्रिका

आइतबार, २३ माघ २०७८, ०८ : २२ मा प्रकाशित

नक्कली नोटको बिगबिगी

घटना १

माघ १८ गते राति बाराको सिम्रौनगढ नगरपालिका–२ बाट २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक युवक पक्राउ परे। पक्राउ पर्ने रौतहटको मौलापुर नगरपालिका–७ पिपरियाका किशोरी साह थिए। साहलाई सिम्रौनगढ–१ रानीवास बजार हुँदै हरिहरपुर गाउँ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले साहको साथबाट बरामद सबै नक्कली नोट एक हजार दरको रहेको जनाएको थियो। प्रहरीले साहले चढेको ना२५प १९७७ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो। बाराका कलैया, निजगढ, जितपुर, सिमरालगायत व्यापारिक र ग्रामीण हाट बजारमा सयदेखि हजार दरका नक्कली नोटको कारोबार हुने गरेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको छ। प्रहरीका अनुसार नक्कली नोट कारोबारमा पक्राउ पर्ने सबै भरिया भएकाले वास्तविक कारोबारी र छापिने ठाउँ पत्ता लगाउन समस्या भएको छ।

घटना २

मंसिर १ गते प्रहरीले काठमाडौंबाट ६५ हजार तीन सय ३५ रुपैयाँ नक्कली नोटसहित पाँचजनालाई पक्राउ ग¥यो। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका–७ बाट नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुबारी गाउँपालिका–२ घर भई हाल काठमाडौंकै बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २६ वर्षीय सरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ घर भई बुढानीलकण्ठ नगरपालिका–१० मिलनचोक बस्ने १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती थिए। प्रहरीले केही थान प्रिन्टर पनि बरामद गरेको छ।

घटना ३

महोत्तरी प्रहरीले कात्तिक ११ गते नक्कली नोटसहित एक तरकारी व्यापारीलाई पक्राउ ग¥यो। प्रहरीले महोत्तरीको गौशाला नगरपालिका–९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित पक्राउ गरेको थियो। महतोलाई नक्कली नोट कसले दिएको भन्ने खुल्न सकेको छैन। यसतर्फ प्रहरीको अनुसन्धान सोझिएको देखिएको छैन। गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि महतोलाई प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित महतोको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको थियो। ती सबै नोट नक्कली थिए।

यी प्रतिनिधिमूलक घटना हुन्। नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँबराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँबराबरका नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजारबराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार नक्कली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको थियो।

त्यस्तै प्रहरीले २०७६ कात्तिक ४ गते काठमाडौंको बौद्धबाट ३४ हजार रुपैयाँबराबरको नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिनसहित ३ जनालाई पक्राउ गरेको थियो। यसैगरी प्रहरीले २०७७ माघमा एक हजार दरका ९ वटा नक्कली नेपाली नोटसहित तीनजनालाई सुर्खेत छिञ्चुबाट पक्राउ गरेको थियो।

मुलुकका साना–ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन्। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पनि यसबारे अनुसन्धान गरिरहेको छ। सुरक्षा स्रोतका अनुसार अहिले नेपाल–भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन्। 

‘भारतमै कारखाना खोलेर हजार दरका नक्कली नेपाली नोट छपाएर ल्याइएको सूचना पाएका छौं, सोही आधारमा हामीले अनुसन्धान र निगरानी गरिरहेका छौं,’ एक सुरक्षा अधिकारीले भने। ती अधिकारीका अनुसार यो धन्दामा संलग्न भारतीय र नेपालीले मिलेर नक्कली नोट बजारमा ल्याउने काम गरिरहेका छन्। प्रहरीका अनुसार गिरोहले नक्कली नोटको कारोबार कपडा पसल, तरकारी पसल, खाद्यान्न पसलमा गरेको पाइएको छ। गिरोहले नक्कली नोटको कारोबार सानोसानो परिमाणमा गर्दै आएको छ। कारोबारीले कुनै सामान खरिद गर्दा वा बिल भुक्तानी गर्दा सक्कली नोटको बीचमा नक्कली नोट मिसाएर दिने गरेका छन्।

यस्तो धन्दा गर्नेले गत तीन महिनाको अवधिमा नेपाली बजारमा करोड रुपैयाँभन्दा बढीका नक्कली नोट प्रवेश गराएको अनुमान छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले नक्कली नोट छाप्ने स्थान र मुख्य कारोबारीको खोजी गरिरहेका छन्। ‘हामीले सीमापारिबाट नक्कली नोट ल्याएको सूचना पाएका छौं। काठमाडौं आसपासमा प्रिन्टरबाट गरिने छपाइ नियन्त्रण गर्न सकिएको अवस्था छ तर सीमापारिबाट गिरोहले नै नक्कली नोट भित्राउने गरेको सूचना पाएका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

पछिल्लो पटक बारा र पर्साका विभिन्न भागमा नक्कली नोट भेटिएका छन्। अहिले प्रहरीको तराईका जिल्ला र सीमावर्ती क्षेत्रमा केन्द्रित भएको छ। राष्ट्रिय अर्थतन्त्रलाई नै धराशायी पार्नेगरी नक्कली नोटका कारोबारीले बजारमा जालो बिछाउन थालेपछि सुरक्षा निकायलाई चुनौती थपिएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले नक्कली नोटको कारोबार नहोस भन्नेमा प्रहरी सचेत रहेको बताए। ‘प्रहरीले बेलाबेलामा सर्च अप्रेसन चलाएको छ, नक्कली नोट प्रयोग रोक्न सर्च अप्रेसन मात्रै होइन, सचेतना पनि आवश्यक छ’, एसएसपी केसीले भने।

यस्तो छ कानुनी प्रावधान

नक्कली नोटको कारोबार गर्ने, उत्पादन गर्नेलाई कडा कारबाहीको व्यवस्था कानुनमा गरिएको छ। मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २५६ मा खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरीले यस ऐनअन्तर्गत कारबाही चलाउँदै आएको छ। तर नेपाल राष्ट्र बैकले यो विषयलाई गम्भीर ढंगले नलिएका कारण बजारमा नक्कली नोटको बिगबिगी बढ्दै गएको सुरक्षा अधिकारीले बताएका छन्। राष्ट्र बैकले कहिल्यै सचेतना अभियान नल्याएको सुरक्षा अधिकारीको आरोप छ।

(याे समाचार आजकाे नागरिक दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको