Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको लिलामीमा आएको 'संस्थापक' सेयर पनि 'साधारण' सरह नै दोस्रो बजारमा कारोबार हुने

बसन्त पाण्डे

मंगलबार, १० फागुन २०७८, १५ : ३५ मा प्रकाशित

एचआईडीसीएलको लिलामीमा आएको 'संस्थापक' सेयर पनि 'साधारण' सरह नै दोस्रो बजारमा कारोबार हुने

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले संस्थापक समूह तर्फको ३ करोड ३० लाख कित्ता सेयर लिलाम बढाबढ (अक्सन) मार्फत बिक्रीमा ल्याएको छ । २०७८ फागुन ०१ बाट सुरु भएको सो अक्सनमा २०७८ फागुन १५ सम्म आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले २०७८ असाेज ०७  देखि असाेज १४ सम्म सर्वसाधारण समूहको ३२,२९,७२४ कित्ता र संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको थियो। त्यतिबेला सर्वसाधारण समूहतर्फ आवेदन दिँदा अंकित मूल्य रु. १०० भन्दा माथिको मूल्य कोट गर्दै न्युनतम १०० कित्ता भन्दा बढी सेयरको लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो भने संस्थापकतर्फ अङ्कित मूल्य रु. १०० भन्दा माथिको मूल्यमा न्युनतम १ करोड कित्ताको लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो।

सो अक्सनमा सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता सेयर बिक्रि भयो (कट अफ प्राइस रु. २२५ रहेको थियो ) तर संस्थापक तर्फको सेयरमा कुनै आवेदन परेन । संस्थापक समूहकाे सेयरमा न्यूनतम एक कराेड  कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरेपछि उक्त सेयरमा कुनै पनि आवेदन परेको थिएन  । हाल HIDCL ले आफ्नो नियमावलीको दशौँ नम्बरको  नियम संसोधन गर्दै न्युनतम १०० कित्ता भन्दा माथि आवेदन दिन मिल्ने गरि सोहि संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ।  

कस्तो छ कम्पनीको सेयर संरचना ? 

हाल HIDCL को संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वको अनुपात ८०:२० रहेको छ। यसका संस्थापकहरुलाई समूह 'क' र समूह 'ख' मा विभाजन गरिएको छ।  समूह 'क' मा अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, कानून मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालय रहेका छन भने समुह 'ख' मा कर्मचारी संचय कोष, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोष तथा यो अक्सन मार्फत सेयर खरिद गरी कायम हुने सेयरधनीहरुलाई अन्य संस्थापक अन्तर्गत राखिएको छ। हाल समूह 'क' मा रहेका संस्थापकहरुको स्वामित्वमा ११ करोड ८६ लाख कित्ता सेयर रहेको छ भने यो अक्सन मार्फत सम्पूर्ण सेयर बिक्रि भएमा समूह 'ख' अन्तर्गतका संस्थापकहरुको स्वामित्वमा  ६ करोड ८६ लाख ४० हजार कित्ता रहनेछ।  

हाल लिलामीमा आएको सेयर कुन प्रकृतिको हो ?

यसअघि कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न १:१ हकप्रद सेयर निष्काशन गरेको थियो। सो हकप्रदमा आवेदन नपरेको सर्वसाधारण तर्फको ३२,२९,७२४ कित्ता र संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता सेयर यसअघि नै कम्पनीले अक्सन मार्फत बिक्रि गर्न आह्वान गरेतापनि त्यतिबेला बिक्रि नभएको संस्थापक समूह तर्फको सेयर अहिले कम्पनीले लिलाम बढाबढ मार्फत बिक्रिमा ल्याएको हो। त्यतिबेला संस्थापक तर्फ न्युनतम १ करोड कित्ताको लागि आवेदन दिनुपर्ने व्यवस्थाले गर्दा संस्थापक सेयरमा आवेदन नपरेको भन्दै HIDCL ले आफ्नो नियमावली संसोधन गर्दै न्युनतम १०० कित्ताको लागि पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यो अक्सनमा आवेदन गरी सेयर प्राप्त गर्ने सेयरधनीहरु संस्थापक समूहको उपसमूह 'ख' अन्तर्गत रहनेछन। 

लिस्टिङ्ग र कारोबार प्रकृया :

एचआईडीसीएलका कम्पनी सचिव जीवन कुमार बस्नेतले हाल खुलाईएको लिलामी मार्फत बिक्री हुने सेयर संस्थापक समूह अन्तर्गत नै लिस्टिङ्ग हुने भए तापनि सो सेयर नेप्सेमा साधारण सेयर सरह खरिद बिक्री हुने बताएका छन् । संस्थापक समूहको लकिङ्ग पिरियड सकिई सकेको हुँदा अहिले लिस्टेड रहेको करिब १४ करोड कित्ता संथापक सेयर पनि नेप्सेमा HIDCL कै सिम्बोलमा लिस्टेड रहेको र ट्रेडेबल रहेको बताउँदै उनले लिलामी मार्फत बिक्री हुने सेयर पनि HIDCL कै सिम्बोलमा लिस्टेड हुने र HIDCL को साधारण सेयर सरह नै दोश्रो बजारमा कारोबार हुने बताएका छन् । बस्नेतले लगानीकर्ताहरू यस विषयमा अन्यौलमा रहनु पर्ने आवश्यकता नरहेको पनि बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको