याे एक्काइसाैँ शताब्दी हाे । अहिले प्रविधिको विकास र आविष्कारले मानिसलाई प्रविधिमा निर्भर बनाएको छ । अहिलेकाे याे एक्काइसाैँ शताब्दीमा प्रविधिकाे आवश्यकता र महत्वलाई शब्दमा व्यक्त गर्न नसकिएला । अहिले प्रविधि बीनाको जीवन मानिसहरूले सोच्न पनि नसक्ने भइसकेका छन् । अहिले हरेक पाइला पाइलामा मानिसहरूलाई प्रविधिको जरूरी पर्छ ।
प्रविधिको आविष्कार पनि मानिसको जीवन सरल र सहज बनाउनका लागि नै भएको हो । प्रविधिकाे प्रयाेगले मानिसहरूकाे विभिन्न कार्यमा पक्कै मद्दत पुर्याएकाे छ । घण्टाैँ लाग्ने कामहरू अहिले प्रविधिले गर्दा सेकेन्डमै गर्न मिल्ने भएकाे छ । प्रविधिले नै गर्दा नयाँ नयाँ कुराहरू जन्मिएका छन् । विश्वभरका मानिसलाई एउटै सञ्जालमा समेटेकाे छ प्रविधिले ।
तर भनिन्छ नी हरेक कुराकाे फाइदा सँगसँगै त्यसका बेफाइदा पनि हुने गर्दछन् । प्रविधिका पनि फाइदासँगै जाेडिएका छन् यसका बेफाइदा ।प्रविधिको पहुँच बढ्दै गएको अहिलेकाे अवस्थामा अनलाइन ठगी पनि ब्यापक रूपमा माैलाइरहेकाे छ । पछिल्लो समय नेपालमा पनि अनलाइनमार्फत् हुने ठगी बढेको छ । प्रविधिकाे दुरूपयाेग गरी अनेकाैँ नाममा ठगिँदैछन् साेझा साझा नेपालीहरू । नेपालमा विद्युतीय तथा साइबर ठगीका घटना जटिल बन्दैछन् ।
चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने, जरूरी परेकाे काम सम्पन्न गर्दिन्छु भन्दै पैसा लिएपछि गायब हुने, नक्कली एप्सहरुमा कारोबार गर्नका लागि पिन कोड वा सेक्युरिटी कोर्ड हान्न लगाउने र उक्त कोड गलत तरिकाले प्रयोग गरेर ठग्ने, अनलाइन सपिङका नाममा हुने फ्रड, नेटवर्किङ व्यवसायको नाममा हुने ठगी लगायतका कुराहरू अनलाइन ठगीका केही उदाहरणहरू हुन् ।
अहिले फेसबुकबाट हुने ठगी पनि अचम्मलाग्दो छ । फेसबुकमा विभिन्न लिङ्कहरू पठाएर मानिसलाई प्रलाेभनमा पारी सजिलै ठगेर भाग्दछन् फ्रडहरू । मानिसकाे मनाेविज्ञानसँग कसरी खेल्ने जानेका हुन्छन् उनीहरूले । अनलाइनमा ठगी गर्ने फ्रडहरूसँग मानिस फकाउने छुट्टै कला हुन्छ । फ्रडहरूले मानिसको प्रकृति बुझी र तिनीहरूको मनोविज्ञानसँग खेल्दै साेही अनुसार ठग्ने प्रयास गर्दछन्।
प्रविधिका फाइदा, बेफाइदा, सदुपयाेग, दुरूपयाेग सबै मानव सिर्जित हुन् । त्यसैले, अनलाइन ठगीका समाधान पनि मानवसँगै हुन्छ ।
कसरी जाेगिने त अनलाइन ठगीबाट ?
१. आफ्नाे पासवर्ड र ओटिपी कोर्ड गोप्य राख्ने,
२. नचिनेकाे व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरणहरू जस्तै, बैंक खाता, नागरिकता लगायतका कुराहरू प्रदान नगर्ने,
३. आधिकारिक प्रोफाइल नभएको व्यक्तिलाई सजिलै विश्वास नगर्ने,
४. अन्य कसैकाे डिभाइसमा आफ्नाे पासवर्ड र पिनहरू सेभ नगर्ने,
५. पैसासँग जाेडिएकाे काराेबारका विषयमा अरूसँग संवाद नगर्ने,
६. अनलाइन ठगीकाे सिकार भइएमा साइबर ब्यूराे अथवा प्रहरी कार्यालयमा सम्पर्क गर्ने ।
कानूनमा के छ ?
नेपालमा साइबर क्राइमअन्तर्गत हुने अपराधका लागि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चल्ने गर्दछ । तर, यो ऐनले अहिलेको सामाजिक सञ्जाललाई भने समेट्न सक्दैन । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ ले अनलाइन ठगी जस्ता घटनाको नियन्त्रणका लागि सूक्ष्म रूपमा छोएको मात्रै छ । ऐनमा ‘इन्टरनेट’ भन्ने एउटा शब्द रहेकाे हुनाले यही आधारमा टेकेर प्रहरीले अनुसन्धान र कारबाही गर्दै आएको छ ।
ऐनले इन्टरनेटबाट हुने ठगी रोक्ने विषयलाई राम्ररी सम्बोधन भने गरेको छैन । उक्त ऐन अनुसार यस प्रकारका कार्यमा संलग्न हुने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । उपदफा २ अनुसार यस्तो कार्य पटकपटक गरेमा वा त्यस्तो कसुरबापत अघिल्लो सजायको डेढी सजाय हुने उल्लेख छ । तर, यस ऐनले नेपाल बाहिरबाट ठगी गर्नेलाई भने छुन सक्दैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस