Like us!
Follow us!
Connect us!
Watch us!

नापी कार्यालको त्रुटिः जग्गा एउटाको पुर्जा अर्कैको, सिंगो गाँउनै तनावमा

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, ०६ : ११ मा प्रकाशित

नापी कार्यालको त्रुटिः जग्गा एउटाको पुर्जा अर्कैको, सिंगो गाँउनै तनावमा

जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ। यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ।

तुलसीपुर उपमहानगरपालिका-१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले त्रुटि गर्दा समस्या गरेको छ। घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ।

स्थानीयबासी संगीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ। तर उनीहरूले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन्। किनकि उनीहरूका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन्। त्यस्तै, दरिभान घर्तीको परिवारले वि.सं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो। तर उनीहरूले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ। त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो। उनीहरूले खेत भनेर जग्गा किने तर नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ। अहिले त्यही पाखो जग्गा उनीहरूले भोगचालन गर्दै आएका छन्।

जग्गा अर्काका नाममा परेर यस्तै थुप्रै समस्या देखिएका छन्। त्यहाँका करिब ४० घरको यस्तो समस्या छ। भोगचलन गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीयबासी संगीता बस्नेतले बताइन्।

‘हाम्रो जग्गा १६ कठ्ठा चार धुर हो, तर अहिले हामीले चार कठ्ठामात्रै उपभोग गर्दै आएका छौं’, उनले भनिन्, ‘भोगचलन गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौं, त्यत्तिमात्रै हाम्रो नाममा आए पनि खुसी हुने थियौं।’

अहिले अर्काको जग्गामा बसोबास गर्दा आफूहरूले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिनसमेत समस्या भएको दरिभान घर्तीले बताए।

‘हामीले किनबेच पनि गर्न पाएका छैनौं, बैंकबाट ऋण निकालेर केही काम गर्न पनि पाएका छैनौं’, उनले भने, ‘घर हालौं भने पनि समस्या छ, अर्काका जग्गामा घर हाल्दा भोलि समस्या हुने हो कि भन्ने निकै डर छ।’

घर्तीको परिवार वि.सं २०१६ मा त्यस स्थानमा बसोबास गर्न आएको हो। उनीहरूले त्यहाँ जग्गा किनेर बस्न थालेका हुन्। जतिबेला छ महिना त्यस ठाउँमा बस्ने र बाँकी छ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो। औलो रोगको जोखिमले पनि त्यहाँका नागरिक पहाड जाने गर्थे। त्यहाँबाट पहाडमा गएको मौकामा त्यहाँ नापी भएको स्थानीयबासी घर्तीले बताए।

‘हामी छ महिना दाङ बस्थ्यौं, छ महिना पहाड बस्थ्यौं’, उनले भने, ‘त्यही मौकामा नापी आएर जग्गा नापेर गएछ, पछि मात्रै हामीलाई थाहा भयो।’

त्यहाँका स्थानीयबासीले यसरी जग्गा बिग्रिएको भन्ने पनि थाहा पाएका थिएनन्। वि.सं २०५२/५३ तिर जग्गा किनबेच गर्ने क्रममा मात्रै उनीहरूले जग्गा यसरी बिग्रिएको भन्ने थाहा पाए।

अहिले मालपोत एउटाले तिर्ने र भोगचलन अर्कैले गर्ने अवस्था सिर्जना भएको छ।

‘मालपोत कर हामीले तिर्छौं’, स्थानीय मीनप्रकाश विश्वकर्माले भने, ‘तर जग्गा अर्कैले भोग गर्ने गरेका छन्।’

राजनीतिक दलहरूले मिलाउन चाहेमा यो मुद्दा मिल्ने भए पनि यस विषयमा राजनीतिक दलहरूले पनि आफ्नो स्वार्थलाई बढी ध्यान दिएको समेत उनीहरूको गुनासो छ। 

त्यहाँ जग्गा किनबेच गर्दा पनि निकै समस्या देखियो। स्थानीय दुर्गाकुमारी बस्नेतको परिवारले त्यहाँ खेत भनेर किने तर, नापीका क्रममा पाखोबारी परेकाले उनीहरू पाखो बारीमा चित्त बुझाउन बाध्य भए।

‘हामीले खेत भनेर किन्यौं, केही वर्ष जोतभोग पनि गर्‍यौं’, बस्नेतले भनिन्, ‘तर पछि अर्कैका नाममा भएपछि, जसको नाममा छ, उसैले दाबी गर्‍यो, हाम्रो भागमा पाखो बारीमात्रै पर्‍यो।’

अहिले जग्गा बढी परेका व्यक्तिहरूले आलटाल गर्दा पनि त्यहाँ कुरा मिल्न सकेको छैन। यस विषयमा पटक-पटक वडा, पालिका र नापी कार्यालयलाई झक्झक्याउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

‘हामीले नापी कार्यालयलाई झक्झकायौं, पटक-पटक वडालाई पनि भन्यौं, उपमहानगरपालिकामा पनि गयौं’, उनले भनिन्, ‘हुन्छ–हुन्छ भन्ने भयो तर कुनै निकायबाट यसमा चासो दिइएन।’

यसले पछिल्ला सन्तानलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्नतर्फ सबैले ध्यान दिनुपर्नेसमेत स्थानीयबासीको भनाइ छ। नापी कार्यालय तुलसीपुरमा भने यस विषयमा समस्या लिएर स्थानीयबासी नआएको कार्यालय प्रमुख गणेशमान विश्वकर्माले बताए।

‘म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि  समस्या लिएर आउनुभएको छैन’, उनले भने, ‘यस विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयबासी पनि एकापसमा मिलेर आएमा सहज हुने देखिन्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको