Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबाट लगानी झिक्दै लघुवित्त, नेप्सेमा २७ लाख २२ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, ०५ : ५० मा प्रकाशित

आज (बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. भर्खरै आईपीओ ल्याएकाे नेष्डो समृद्ध लघुवित्तको सेयर रजिष्ट्रार चयन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सो सम्बन्धी सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्। कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लाेबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे । अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू ग्लाेबल आईएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

२. मुद्दती निक्षेप तथा सेयरबाट लगानी झिक्दै लघुवित्त

नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्न थालेका छन्  । विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाले मुद्दती निक्षेप र शेयरबजारमा पैसा लगानी गर्न थालेपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको थियो । यस कारण लघुवित्त संस्थाहरूले लगानीमा रहेको रकम झिकेर कर्जा प्रवाह वृद्धि गरेका हुन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा लघुवित्तहरूको ९ अर्ब ९१ करोड रुपैयाँ शेयर लगानी तथा मुद्दती निक्षेपमा थुप्रिएको छ । अघिल्लो आवको तुलनामा लघुवित्तहरूको लगानी ३२ प्रतिशतले घटेको छ । गत पुससम्ममा लघुवित्तहरूको लगानी १७ अर्ब ३७ करोड रहेको थियो ।

३.  दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा नेपाल टेलिकम अब्बल

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेकाे छ । नेप्से १.१९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा पुगेकाे छ । कूल २२९ वटा कम्पनीकाे ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेकाे छ । बुधबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १० कराेड ५२ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.१० प्रतिशतले बढेर एक हजार एक सय ३५ रूपैयाँ पुगेकाे छ ।  यस दिन विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.७८ प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार एक सय ९३ रूपैयाँमा झरेकाे छ । 

. युनिक नेपाल लघुवित्तकाे सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे । अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

५. नेप्सेमा २७ लाख २२ हजार कित्ता सेयर सूचिकृत, ४ वर्षदेखि बन्धक सहारा विकास बैंकका लगानीकर्ताले काराेबार गर्न पाउने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) गरिमा विकास बैंक लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १:१ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । याे सँगै ४ वर्षदेखि रोक्का रहेको सहाराको सेयर गरिमाको नामबाट कारोबार फुकुवा भएको छ । 

६. डा. रविन्द्र पाण्डे भन्छन्, "आर्थिक मन्दी र मुद्रास्फितिको कारण सेयर बजार र रियल स्टेट व्यवसाय ठूलो संकटमा पर्नेछ"
 
डा. रविन्द्र पाण्डेले आर्थिक मन्दी र मुद्रास्फितिको कारण सेयर बजार र रियल स्टेट व्यवसाय ठूलो संकटमा पर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा युद्धको कारण सम्भावित अर्थतन्त्र कोल्याप्स हुन नदिन केके गर्ने भन्ने विषयमा आफ्नाे धारणा व्यक्त गर्ने क्रममा उनले यस्ताे बताएका हुन् । उनले भनेका छन्, " यस्ताे संकट अन्य देशमा देखिइसकेको छ ब्यापारीहरुले डलर र सुनमा लगानी बढाउने छन् जुन अनुत्पादक रुपमा स्टक रहनेछ यो तर्फ सरकारले मापदण्ड बनाउनु पर्दछ । कथंकदाचित युद्ध लम्बियो वा बहुपक्षीय भयो भने आम जनतालाई भोकमरीबाट बचाउन सरकारले कृषि अभियान संचालन अहिलेदेखि नै गर्नुपर्दछ । आयातलाई घटाउने र निर्यातलाई बढाउने कार्यक्रम ल्याउनु पर्दछ ।"

७. सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाकै १ लाख ५ हजार ५०० रुपैयाँ

नेपाली बजारमा सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ । बुधबार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हाे । यस दिन चाँदीको मूल्य पनि ताेलामा ४० रुपैयाँले बढेर प्रतिताेला १४५० रुपैयाँ कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको