Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे बाेनस सूचिकृत, यसै साता आईपीओ बाँडफाँड हुने

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ०७ : ४० मा प्रकाशित

आज (चैत्र १५ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. बीमा समिति भन्छ, "पूँजी बढाउन हकप्रदको बाटो पनि खुल्ला छ, 'क्यापिटल प्लान' हेरेर निर्णय लिन्छौं" 

बीमा समितिले जीवन बीमा कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको २.५ अर्ब चुक्ता पुँजी पुर्याउने निर्णय गरेसँगै यतिबेला यो प्रसंगले बजार तातेको छ । केही वर्षअघि बीमा कम्पनीहरुको पुँजी कम भएको भन्दै जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी पुर्याइएको थियो।  अहिले फेरी पुँजी कम भएकाले बीमा कम्पनीहरु जोखिममा रहेको भन्दै बीमा समितिले पुँजी वृद्धिको कार्यक्रम ल्याएको हो। यसै विषयमा बाेल्दै बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले पूँजी बढाउन हकप्रदकाे बाटाे पनि खुल्ला रहेकाे र बीमा कम्पनीहरूकाे क्यापिटल प्लान हेरेर निर्णय लिइने बताएका छन् ।

२. नबिल बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ वटा बैंक र एउटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ३३.६० प्रतिशत बोनस बापतको ४ कराेड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।

३. निरन्तर ओरालो यात्रामा सेयर बजार, नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट

आज (मंगलबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.२६ अंकले घटेर २६२७.५८ विन्दुमा झरेकाे छ । नेप्से ०.५६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा झरेकाे छ । कूल २२५ वटा कम्पनीकाे ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार एक सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटन समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । मंगलबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ९१ लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन एनआईबिएल समृद्धि फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । फण्डकाे मूल्य ४.७३ प्रतिशतले घटेर ८ रूपैयाँ ८६ पैसामा झरेकाे छ । 

४. उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै

चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । फअघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् । ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन । 

५. अर्थमन्त्रीको प्रश्न- ‘बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक ?’

अर्थ मन्त्रालयले सोमबार आगामी आर्थिक वर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयका लागि सुझाव लिन बैंक, बित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आबको बजेट निर्माणका लागि कृषि, बित्तिय संघीयता, शिक्षा, निजी क्षेत्रलगायतकासँग छलफल सकिएको र बैंक बित्तिय तथा बिमा क्षेत्रका बारेमा छलफल गरी सुझाव लिने उदेश्यले बैठक राखेको बताएका थिए । उनले बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो भन्ने प्रश्न गरेका थिए । उनले प्रणालीबाट गएको पैसा पुन नफर्कनु चिन्ताको बिषय भएको भन्दै सबै बैंक तथा बित्तिय संस्थालाई पारदर्शी ढङ्गले गतिविधि संचालन गर्न पनि आग्रह गरेका छन्।

६. ग्रीन भेन्चर्सको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, यसै साता बाँडफाँड हुने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट आज सम्पन्न भएकाे छ । उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट आज (चैत्र १५ गते, मंगलबार) निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकाे कार्यालयमा सम्पन्न भएकाे हाे । प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ । उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड यसै साताभित्र सम्पन्न गरिने पनि क्यापिटलले अर्थ संसार डटकमलाई जानकारी दिएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

७. बैंकर साहको सुझाव ‘आधिकारिक माध्यमबाट रेमिट्यान्स नपठाए पुनःश्रमस्वीकृति नदिनु’

नेपाल बैंकर एसोसिएसनका पुर्व अध्यक्ष एबं नबिल बैंकका प्रमुख कार्यकारी निर्देशक अनिल साहले सरकारले तोकेको सिमा अनुसार पैसा आधिकारिक माध्यमबाट पठाइको नपाए पुनः श्रमस्वीकृति नदिनेसम्मको व्यवस्था लागू गर्न सुझाव दिएका छन् । अर्थ मन्त्रालयले सोमबार दिउँसो आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयका लागि सुझाव लिन बैंक, बित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफलमा उनले यस्तो सुझाव दिएका हुन् । छलफलमा बैंकर साहले रेमिट्यान्सको आयात बढाउन बैदेशिक रोजगारीमा जाने श्रमिकको पुनः श्रम स्वीकृतिमा नयाँ व्यवस्था गर्नुपर्ने सुझाव दिए । 

८. जोर-बिजोरसहित आईतबार पनि सार्वजनिक बिदा दिन सरकारलाई आयल निगमको प्रस्ताव

नेपाल आयल निगमले इन्धनको खपत गर्नका लागि जोर बिजोर प्रणाली सहित थप एक दिन बिदा दिने प्रस्ताव सहित सरकारलाई पत्र लेखेको छ ।इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई र देशलाई पनि जोगाउनका निमित्त यस्तो उपाय अबलम्बन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको छ । मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

९. १३ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

मंगलबार सूनकाे मूल्य ताेलामा १३ सय रूपैयाँले घटेर प्रतिताेला ९९ हजार २ सय रूपैयाँ पुगेकाे छ । यसदिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ७० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको