Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको सेयर बजार : लगानीकर्ताका लागि सँधै 'अप्रिल फुल'

बसन्त पाण्डे

शुक्रबार, १८ चैत्र २०७८, १७ : ०२ मा प्रकाशित

नेपालको सेयर बजार : लगानीकर्ताका लागि सँधै 'अप्रिल फुल'

आज अप्रिल १, विश्व मुर्ख दिवस अर्थात अप्रिल फुल डे ! अप्रिल फुल कहिले र कहाँबाट मनाउन थालियो भन्ने कुरा अझै पनि राम्ररी खुल्न सकेको छैन।  कतिपयले १३ औँ शताब्दीमा बेलायतबाट यसको सुरुवात भएको भन्दछन भने कतिपयले १५ औँ शताब्दीमा जर्जियाबाट यसको सुरुवात भएको मान्ने गर्दछन। जसरी र जहाँबाट यसको सुरुवात भएतापनि अहिले 'अप्रिल फुल' लाई आफन्त र साथीभाईहरुलाई सभ्य रुपमा प्र्याङ्क गर्दै एकअर्कालाई झुक्याएर रमाईलो गर्ने दिनको रुपमा मनाउन थलिएको छ।  

अरुले आज अप्रिल फुल डे मनाइरहदा सेयर लगानीकर्ताहरु भने बारम्बार फुल बनाईने गरेका छन। कहिले कम्पनीले गलत वित्तिय विवरण प्रकाशन गरेर लगानीकर्ताहरुलाई फुल बनाइरहेको हुन्छ भने कहिले बजार अब ६००० को यात्रामा हिड्यो भन्ने विश्लेषकहरुले फुल बनाइरहेका हुन्छन। इन्साईडर सूचनाहरुमा खेल्नेहरुले आफुले पहिले नै टन्न सेयर एकुमुलेसन गरेर सकारात्मक समाचार आउनेबित्तिकै सेयर फालेर राम्रो समाचार आयो भन्दै सेयर किन्न दौडिने नयाँ तथा कम अनुभवी लगानीकर्ताहरुलाई फुल बनाईरहेका हुन्छन। कहिले खानीखोलाको '७१' रुपैयाँ वाला EPS ले लगानीकर्तालाई फुल बनायो भने कहिले MCC पास भएपछी हाइड्रो १००० घटी पाइदैन भन्ने हल्लाले फुल बनायो। स्थानीय चुनावको घोषणासँगै अब चुनावको घोषणा भयो बजार ३६०० माथि पुग्छ भन्ने हल्लाले अर्को एक चरण लगानीकर्ताहरुलाई फुल बनायो। यस्ता धेरै प्रसङ्गहरु छन जुन प्रसङ्गहरुले सेयर बजारका लगानीकर्ताहरुलाई फुल बनायो। अप्रिल फुलको विशेष अवसर पारेर आज हामीले विगत केहि समययता कुन कुन विशेष घटनाहरुले लगानीकर्ताहरु 'फुल' बने भन्ने प्रसंगलाई प्रस्तुत गर्ने जमर्को गरेका छौँ।  

खानीखोलाको ७१ रुपैयाँ EPS 'फुल'

खानीखोला हाईड्रोपावरले आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासको वित्तिय विवरणमा ७१ रुपैयाँ प्रति सेयर आम्दानी देखाईदियो। विधुत प्राधिकरणले प्रसारण लाईन नबनाएका कारण कम्पनीलाइ करिब ४१ करोडको घाटा भएको भन्दै सो ४१ करोड रकम विद्युत प्राधिकरणसँग दाबी गर्दै पत्र पठाइएको भन्दै सो ४१ करोडलाई समेत कम्पनीले आम्दानीको रुपमा वित्तिय विवरणमा देखायो। सो वित्तिय विवरण आउनुअघि खानीखोला हाईड्रोको सेयर ठूलो मात्रामा एकुमुलेसन भएको थियो। ७१ रुपैयाँ EPS देखाईएको वित्तिय विवरण प्रकाशित हुनुभन्दा अघि ३८० मा क्लोज भएको सेयर मूल्य वित्तिय विवरण प्रकाशित भैसकेपछि लगातार ३ दिन सकारात्मक सर्किट लाग्दै ५५७ सम्म पुग्यो। यो क्रममा धेरैले KKHC को सेयर खरिद गरे।  तर जब विद्युत प्राधिकरणले खानिखोलाको दाबी निराधार रहेको र  कम्पनीले दाबी गरेको सो ४१ करोड रकम प्राधिकरणले भुक्तानी नगर्ने जानकारी दियो त्यसपछि भने जसरी बढेको थियो त्यसरी नै सेयरमूल्य सर्किट लागेर घट्न थाल्यो।  ५५७ बाट लगातार सर्किट लाग्दै KKHC ३२२ सम्म आईपुग्यो।  त्यसपछि KKHC को मूल्य लगातार घट्दै २८५ तिर आइपुगेको छ।  

MCC 'फुल' 

मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) संसदबाट पास हुनेबित्तिकै हाइड्रोपावर कम्पनीहरुको सेयर १००० घटी पाइदैन भन्ने हल्ला बजारमा धेरै पहिलेदेखि नै चलेको थियो।  संसदबाट MCC अनुमोदन हुन निकै गाह्रो छ तर MCC अनुमोदन भईसकेपछि भने हाइड्रोहरु 'बुम बुम' हुने भन्ने किसिमको विश्लेषण धेरैले गर्दै आएका थिए।  २७ फेब्रुअरी २०२२ मा जब राति अबेरसम्म बसेर संसदले MCC पास गर्यो अब भोलि सेयर किन्नुपर्छ भन्दै धेरै लगानीकर्ताहरु हौसिएका थिए। तर भोलिपल्टको परिदृश्य फरक बनिदियो।  अघिल्लो दिन ३३१७ को बिन्दुमा क्लोज भएको हाईड्रो इन्डेक्स MCC पास भएको भोलिपल्ट ३४०३ को बिन्दुसम्म पुग्यो र त्यो बिन्दुबाट उच्च सेलिङ्ग आयो।  त्यसपछि हाइड्रो इन्डेक्स लगातार घट्दै अहिले २९०० को हाराहारीमा आइपुगिसकेको छ।  

चुनाव 'फुल' 

चुनाव घोषणा भएपछी बजार अचाक्ली नै बढ्छ भन्ने सेन्टिमेन्ट रिटेल लगानीकर्ताहरुमा क्रियट गरिएको थियो। चुनाव कहिले घोषणा हुने हो भन्ने अन्यौलकै बीच ७ फेब्रुअरी २०२२ मा सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने घोषणा गर्यो। त्यो घोषणासँगै बजार अब मज्जाले बढ्ने आँकलन ठूला देखि साना सबै लगानीकर्ताहरुले गरेका थिए। निर्वाचन घोषणा भएको भोलिपल्ट सुरुवातमा बजार उच्च अंकले बढ्यो र २९२० को बिन्दुतिर पुगेपछि मज्जाको सेलिङ्ग आउन थाल्यो। चुनावको खबरले बजार बढ्छ भन्ने आँकलन गर्दै सेयर किन्ने लगानीकर्ताहरु फुल बन्न पुगे। चुनाव घोषणा पछि २९२० सम्म पुगेको बजार अहिले घट्दै २५०० को हाराहारीमा आइपुगिसकेको छ।  

इन्स्योरेन्स पुँजी वृद्धि 'फुल' 

बिमा समितिले बिमा कम्पनीहरुको पुँजी बढाउने कुरा अलिक अघिदेखि नै चल्दै आएको थियो। बिमा कम्पनीहरुको पुँजी बढ्ने भयो बिमा कम्पनीहरुको सेयरमूल्य उच्च रुपमा बढ्छ भन्ने धेरैको विश्लेषण थियो। केहि समय अघिदेखि चलेको बजार हल्लालाई सहि साबित गर्दै बिमा समितिले जीवन बिमाको ५ अर्ब र निर्जीवन बिमाको २.५ अर्ब पुँजी पुर्याउने घोषणा गरेसँगै बिमा कम्पनीहरुको सेयर मूल्य अत्याधिक रुपमा बढ्ने अपेक्षासहित बिमा समितिको पुँजी वृद्धि घोषणा बहेको भोलिपल्ट उच्च मूल्यमा बिमाका सेयर किन्ने लगानीकर्ताहरु फुल बने। २७ मार्च २०२२ मा जीवन बिमा कम्पनीको इन्डेक्स १५७३५ को बिन्दुसम्म पुगेको थियो भने नन लाईफ इन्डेक्स १२९०० भन्दा माथि पुगेको थियो। अहिले लाइफ इन्स्योरेन्स इन्डेक्स १४००० र नन लाइफ १२००० को हाराहारीमा छ र दुबै इन्डेक्सहरु घट्ने क्रम जारी छ।  

सेयर बजारलाई बुझ्न सकिएन र बजारको चालअनुसार चल्न सकिएन भने बजारले फुल बनाउँछ। जुन घटनाहरुलाई बजार बुझेकाहरुले बेच्ने अवसरको रुपमा प्रयोग गर्छन त्यही घटनालाइ नयाँ तथा कम अनुभवी लगानीकर्ताहरुले किन्ने समयका रुपमा लिन्छन र महँगोमा पर्छन। प्राय: लगानीकर्ताहरुको स्वभाव बजार पिकमा हुँदा बेच्न नसक्ने अनि बजार घटेर बटमतिर आऊदै गर्दा बजार अब सक्किने भयो भन्दै आत्तिएर बेच्ने किसिमको हुन्छ। सो प्रवित्तिका लगानीकर्ताहरु महँगोमा सेयर किनेर फस्ने अनि महँगोमा किनेको सेयरलाई बजार घटेर तल आउँदा बेच्ने प्रक्रियालाई बारम्बार दोहोर्याएर 'फुल' बन्ने गर्दछन।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको