Like us!
Follow us!
Connect us!
Watch us!

कर नतिरे बोनस नपाईने, आईपीओ बाँडफाँड गर्ने तयारी

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ०५ : १८ मा प्रकाशित

आज (चैत्र २३ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. आइएमई लाईफले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा वैशाख १४ बुधबार र्याडिसन होटल, लाजिम्पाट काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्ट्याएको साधारण सेयर जारी गर्ने र अन्य कुनै कम्पनीसंग मर्जर वा एक्विजीसन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । 

२. अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र नै फरक छ’

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा नपुगेको बताएका छन् । उनले अहिले श्रीलकांमामात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको बताए । उनले नेपालको अर्थतन्त्रलाई कक्टेल अर्थतन्त्रको संज्ञा दिएका छन् । उनले श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ। श्रीलंकाको अथर्तन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो । कृषिमा उसको ८ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो । उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गर्यो । अर्गानिक खेतीमा गयो । रसायनिक मल बन्द गर्यो । उत्पादन घट्यो । बढि ब्याजको ऋण लियो, त्यो पनि छोटो अवधिको लियो ।’

३. नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, हिमालयन डिष्टिलरी काराेबारमा अब्बल

आज (बुधबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । बुधबार नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा झरेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ विन्दुमा पुगेकाे छ । कूल २२६ वटा कम्पनीकाे ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । बिहीबार पनि हिमालयन डिष्टिलरी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ४१ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे  सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ५ सय ४५ रूपैयाँ ५० पैसा पुगेकाे छ । त्यसैगरी, यस दिन इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक सय ९० रूपैयाँ ७० पैसामा झरेकाे छ ।

४. बलेफी हाइड्रोको आईपीओ बाँडफाँड काम चल्दै, अर्काे साता सम्पन्न गर्ने तयारी

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड अर्काे साता हुने भएकाे छ । कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको छ । 'डाटा भेरिफिकेसनको काम सक्याएर चैत्र २५ गते, शुक्रबार प्री-अलोटमेन्ट गर्ने तयारीमा छौँ तर केहि कारणले शुक्रबार हुन नसके आईतबारसम्ममा प्रि-अलटमेन्ट सकेर अर्को सातामा जसरी पनि आईपीओ बाँडफाँड गर्छौ' क्यापिटल स्रोतले भन्यो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरकाे २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५.७६ गुणा बढी आवेदन हो । माागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ । 

५. छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद बाँडफाँड, बिहिबारदेखि रकम फिर्ता

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट चैत्र ९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू चैत्र १६ गते बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको फेसबुक लाईभ मार्फत खोली चैत्र २२ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो । सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी चैत्र २४ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ । 

६. फेरी बढ्याे ग्यास र पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल १६० रुपैयाँ लिटर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ। अब  पेट्रोल प्रतिलिटर १६० रूपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ। 

७. बोनसमा लाग्ने कर तिर्न कालिका लघुवित्तको आग्रह, कर नतिरे बोनस नपाईने

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । संस्थाले २०७६ साल पुस २३ गते पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो । सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

८. ३ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले घटेर प्रतिताेला ९८ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यस्तै, चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला १ हजार ३३५ रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको