Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बेच्दै निर्मल प्रधान,  गभर्नर निलम्बित !

अर्थ संसार

शनिबार, २६ चैत्र २०७८, ०५ : ५० मा प्रकाशित

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बेच्दै निर्मल प्रधान,  गभर्नर निलम्बित !

आज (चैत्र २५ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. उपकार लघुवित्तको आईपीओ आजदेखि खुल्याे, अधिकतम एक हजार कित्तासम्म भर्न पाइने

उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आज शुक्रबारदेखि आवेदन दिन सकिने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र २९ गतेसम्म र ढीलाेमा बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

२. मर्जरको प्रस्तावसहित एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, अधिकृत पूँजी ३ अर्ब पुर्याइने

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा वैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा दिउसो २ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने र निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पारित गरिनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २०७९ बैशाख १२ गते बुक क्लोज गर्नेछ । यसअनुसार २०७९ बैशाख ११ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

३. अर्थमन्त्री र गभर्नर बीच सार्वजनिक कार्यक्रममै चर्काचर्की, आरोप प्रत्यारोपमै उत्रिए

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा बाेल्दै अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था पनि भएकोले त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे । ‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्‍याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’ अर्थमन्त्री शर्मा बोल्नु अगाडि बोलेका गभर्नर अधिकारीले अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा देखाएका थिए । गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी दिए । त्यसमा अर्थमन्त्री शर्माले नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जान लागेकोमा आंतकित नपार्न समेत अनुरोध गरे ।

४. अपि पावरको हकप्रदमा आजदेखि खुल्याे, वैशाख १५ गतेसम्म भर्न पाइने

अपि पावर कम्पनी लिमिटेडको हकप्रद आजदेखि खुलेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०।३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीकाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुक्तिनाथ विकास बैंकका ताेकिएका शाखा कार्यलयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।

५. अरुलाई बैंक अफ काठमाण्डूको सेयर किन भन्ने निर्मल प्रधान आफै संस्थापक सेयर बेच्दै

बैक अफ काठमाण्डू लिमिटेडका सेयर किने राम्रो मुनाफा कमाइने भन्दै लगानीकर्ताहरुले सेयर किन्ने आग्रह गर्ने बैंकका संस्थापक शेयरधनी निर्मल प्रधानले आफ्नो नाममा रहेको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । उनले केही समय अघि एक अन्तवार्तामा र्बंक अफ काठमांडौको सेयरमा लगानी गर्ने लगानीकताहरुलाई बैंकले संरक्षण गर्ने भन्दै उनले यसमा लगानी गर्न सुझाएका थिए । यसरी लगानीकर्ताहरुलाई संरक्षण गर्ने बैंकको सेयर बेचेर बजारका बादशाह भनेर चिनिने प्रधान किन बाहिरिँदैछन् भन्ने प्रश्न अहिले लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत गरिरहेका छन् । 

६. साताकाे सेयर बजार : होटेल समूहलाई फाइदा, लघुवित्त समूहलाई घाटा

यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ। साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार  भने ३५ अंकले बढेर सेयर बजार २४६४ विन्दुमा आएर बन्द भएको छ । यो साता नेप्से आइतबार २५८५ उच्च विन्दु र बुधबार २४१६ मा झरेको थियो । यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआइ २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाइ सिग्नल दिएको छैन । साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाइ ३१४० मै बन्द भएको देखिन्छ । होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ विन्दुमा आएर बन्द भएको छ । यसरी लगातार बजार घट्नुको कारण बजारमा तरलताको कमी रहेको अर्थविद्हरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले आयात गर्ने करिब ३०० वस्तुमा कडाइ गरेकाले बजारमा बिस्तारै तरलताको समस्या समाधान हुने अर्थविद्हरू बताउँछन् ।

७. मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजिनामा !

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छिन् । खुँञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी रहँदै सञ्चालक समितिसमक्ष राजीनामा पेश गरेकी हुन् । उनको ४ वर्षे कार्यकाल चैत २९ गते सकिँदै थियो । बैंकको सञ्चालक समितिसँग केहि मनमुटाव भएपनि उनले राजिनामा दिएको हुनसक्ने अनुमान गरिएकाे छ ।

८. अर्थमन्त्री शर्मा भन्छन्, "कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन"

अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पारेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए । ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन ।’ नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाई थियो । 

९. ५ सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी

शुक्रबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ५५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

१०) गभर्नर महाप्रसाद अधिकारी निलम्बित !

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयमा निलम्बन गरिएको स्रोतले जनाएको छ । बैठकले उनीमाथि छानबिनको निर्णय गरेको बताइएको छ । कार्यबाहकको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको स्रोतले जनाएको छ । आज बिहान राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको