Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गभर्नर नेपाल भन्छन् ‘सरकार र केन्द्रीय बैंकबीच टसल हुन्छ, मेरो पालामा पनि भएको थियो’

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १६ : ११ मा प्रकाशित

पूर्व गभर्नर नेपाल भन्छन् ‘सरकार र केन्द्रीय बैंकबीच टसल हुन्छ, मेरो पालामा पनि भएको थियो’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए । 

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने–‘अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो विदेशी ऋण पनि त्यति धेरै होईन् । नेपालमा जिडिपीको २२ प्रतिशतमात्रै छ । श्रीलंकाको बाटोमा त हामी छँदै छैनौं । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आँत्तिनुपर्ने अवस्था छैन् । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो लेभलबाट गुज्रिएका छैनौं । तर, सतर्कता त हुनुपर्छ ।’

उनले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको सुनाए । उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो । नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो । देशमा वित्तिय स्थायित्व लिएर आउने हो, शोधान्तरको स्थितिलाइ राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो । र, वित्तिय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नु हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ । सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ । मेरो बेलामा पनि भएको थियो । समन्वय नै गरेर अघि बढ्नुपर्छ ।’

उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए । उनले भने,‘कोभिडपछिको अवस्थामा केन्द्रीय बैंकबाट सपोर्ट भएकै हो । तरलता मजाले गयो । ३२ प्रतिशतसम्म कर्जा विस्तार भयो ।’

समयमै बजेट र मौद्रिक नीति नआएको र समग्र वित्तिय क्षेत्रमा ब्याजदर तोकिएको अवस्था पनि उनले स्मरण गराए । उनले आजपनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको सुनाए । उनले भने,‘पुँजीगत खर्च भएन । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिट्यान्स हो । विदेशी सञ्चिती कम भयो । पर्यटन क्षेत्रपनि ठप्प भयो । अहिले विदेशी सञ्चितीमा प्रेसर भएको छ। ११ महिना पुग्ने वस्तु तथा सेवा आयात गर्ने पुग्ने विदेशीसञ्चिती घटेर ६.७ मा पुग्ने भएको छ। अब अनुशासित हुनुपर्छ । केन्द्रीय बैंकले नीति लिएको छ, विलासीको सामान नलिने हो कि भनेर । केन्द्रीय बैंकले सबैको समन्वयमा यो नीति लिनुपर्ने हो । युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको छ । युद्ध लम्बियो भने आउने दिनमा हामीले तेल आयात गर्नुपर्नेहुन्छ । अर्थतन्त्रमा विदेशी सञ्चितीको दबाब बढेकै हो । तर, केही समयपछि यो आँफै सुधार भएर जान्छ ।’

उनले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा उल्लेख गरे । उनले भने,‘सरकारले बनाएको नियम, कानूनअनुसार अघि बढ्नुपर्छ । केन्द्रीय बैंकको आफ्नो नीति छ। केन्द्रीय बैंक स्वायत्त संस्था हो । दिगो वित्तिय स्थायित्वको लागि स्वायत्तता आवश्यकत्ता छ । तर सरकार र केन्द्रीय बैंकबीच टसल परिरहन्छन् ।’

उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले एक किसिमले अहिले गर्भनरलाई निलम्बन गरेको छ। उहाँमाथि आरोप लागेको छ। आरोपहरु प्रुभ नहुन पनि सक्छ। यो आरोप लाग्ने र लगाईने कुरा आफ्नो ठाउँमा छ । अमेरिकाजस्तो देशमा पनि टसल हुन्छ । पार्टीहरुका आर्थिक राजनीतिक एजेण्डा हुन्छन् । उनीहरुले भोटर रुझाउन खोज्छन् । तर, केन्द्रीय बैंक भनेको सधैं कडा रुपमा प्रस्तुत हुनुपर्छ । पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीति गत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँछ भन्ने मैले विश्वास लिएको छु ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको