लगानीकर्ताहरुले सेयर बजारमा आएको अस्वभाविक गिरावटका सम्बन्धमा सेयर बजारका लगानीकर्ताका विभिन्न संघ संस्थाहरुले गभर्नरको ध्यानाकर्षण गराएका छन् । विभिन्न तीन वटा संघ संस्थाले सयुक्त रुपमा गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै सुधारका लागि आवश्यक कदम चाल्नका लागि आग्रह गरेका हुन् ।
ध्यानाकर्षण गराउनेमा सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा गभर्नरलाई ध्यानकर्षण पत्र बुझाएका हुन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘हालैको राजनीतिक घटनाक्रमपछि केहि समयको अन्तराल पश्चात् २०८२ साल असोज २ गतेदेखि सेयर बजार (नेप्से) पुनः कारोबारका लागि खुलेको सबैलाई अवगत भएको विषय हो । तर, पूर्वतयारी र उचित सतर्कता बिना बजार खुलाइएकै दिन करिव ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दै,७२ करोड मात्र कारोबार भई, १६० अंकभन्दा बढी सूचकांकमा ह्रास भई करिव ३ खर्व पुँजिकरण ह्रास भएको तथ्य सबै लगानीकर्ताहरूका साथै राष्ट्रको समेत चिन्ताको विषय बनेको छ ।’
त्यस्तै अचानक आएको ठूलो गिरावटका कारण बजारमा त्रास फैलिएको उनीहरुको भनाइ छ । आम लगानीकर्ताहरूले आफ्नो पुँजीको ठूलो अंश गुमाउनु परेको र मनोवैज्ञानिक रूपमा निराश भएको अवस्था देखिएको बताइएको छ । विगतमा पनि ०६२/०६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प, वा कोभिड–१९ जस्ता संकटका समयमा समेत विना सावधानी बजार खुलाऊँदा शुरूका दिनमा लगानीकर्ताले कम कारोबार संगै ठुलो लगानी गुमाऊनु परेको भन्दै नियामक निकायहरूले केहि नीतिगत व्यवस्थामा सुधार गरे पश्चात विस्तारै बजारले आफैंलाई पुनः सन्तुलनमा ल्याएको ऐतिहासिक उदाहरण भएता पनि,यस पटकको अनपेक्षित ह्रासले लगानीकर्तामा गहिरो अविश्वास पैदा गरेको लगानीकर्ताहरुको भनाइ छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको वाहुल्यता रहेको नेपालको पुँजी बजारलाई सुरक्षित,पारदर्शी र लगानीकर्तामैत्री बनाउने यात्रामा नेपाल राष्ट्र बैंकको सक्रियता अपरिहार्य रहेको उनीहरुले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस