Like us!
Follow us!
Connect us!
Watch us!

जोडियो गौरीशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्यटकलाई सहज

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १६ : ५२ मा प्रकाशित

जोडियो गौरीशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्यटकलाई सहज

दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ ।  गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा विद्युत्लाई विस्तार गरिएको हो । 

स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा समेत आवश्यक सहयोगसमेत गरेपछि गाउँमा बिजुली बत्ती आएको स्थानीय शिक्षक बोलेन्द्र आचार्यले जानकारी दिए । जिल्लाकै उत्तरी क्षेत्र र हिमाली उच्च क्षेत्र भएका कारण तथा यातायातको सुविधा नभए पश्चात् प्रसारण लाइन जडानका लागि निकै चुनौती रहेको र लामो समयदेखि निरन्तर कार्य जारी रहे पश्चात् गाउँमा बिजुली पुगेको जनाइएको छ । अहिले सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

गौरिशङ्कर–९ स्थित सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतका बस्तीहरुमा राष्ट्रिय केन्द्रीय प्रसारण लाइनको बिजुली बल्न सुरु भएपछि च्छोरोल्पा जाने पर्यटकहरूका लागि सबैभन्दा बढी सहज भएको छ । एक हप्तासम्मको यात्रामा च्छोरोल्पा जाने पर्यटकलाई मोबाइल, टर्च र क्यामेराको ब्याट्री लगायतका विद्युतीय उपकरणहरु चार्जका लागि बिजुली चाहिने भए तापनि  विद्युत् नहुँदा समस्या हुँदै आएको अब उक्त समस्याको समाधान भएको छ ।

वर्षमा हजारौं पर्यटकहरु पैदल मार्ग हुँदै हप्ता दिनको यात्रामा च्छोरोल्पा जाने गर्दछन् । बाटोमा खाना बस्नको राम्रो व्यवस्थापन र पैदल मार्गका लागि  च्छोतच्छोतदेखि हिमतालसम्मै पुग्ने बाटो राम्रो तरिकाले निर्माण गरेपछि पर्यटकहरु थप वृद्धि भएको स्थानीयवासी छिरिङ शेर्पाले बताए । बाटोमा बस्दै रमाइलो गर्दै जाने पर्यटकहरूका लागि विद्युत् सेवा विस्तार भएपछि थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ । च्छोरोल्पा हिमतालमा पैदल यात्रामार्फत जान नसक्ने कतिपय पर्यटकहरु हेलीमार्फत पनि उक्त क्षेत्रमा भ्रमणमा जाने गरेको पाइन्छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने यस हिमतालमा जाने पर्यटकहरूलाई सहज गराउनका लागि संरक्षण क्षेत्रले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गौरीशङ्कर गाउँपालिका–९ का ठाङ्दिङ्ग, उतिसे र केताङ्गमा अझै विद्युतीकरणको कार्य बाँकी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको