Like us!
Follow us!
Connect us!
Watch us!

‘मेरो स्वास्थ्य भन्दा पनि पूँजी बजार सुधार र विकासको युगिन आवश्यकता धेरै महत्वपूर्ण हो’

तिलक कोइराला

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ०८ : ५४ मा प्रकाशित

‘मेरो स्वास्थ्य भन्दा पनि पूँजी बजार सुधार र विकासको युगिन आवश्यकता धेरै महत्वपूर्ण हो’

हामीले पूँजीबजार सुधार र बिस्तारका लागि लामो समयदेखि पहल गर्दै आएको कुरा बिदितै छ । २०७५ सालदेखिका पटक- पटकका आन्दोलन र हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पूँजी बजारको संबेदनशिलता र लाखौं लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले हामीले ०७९ जेठ २० गते यताबाट सडक आन्दोलन समेत गर्यौं तर सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका काम गर्न फिटिक्कै पाईला सारेन बरु उल्टै बहानाबाजी गरेर बस्यो ।  

पूँजीबजार सुधार र बिस्तारका काम गर्न सरकार अनिच्छुक देखिएपछि अन्तिम र निर्णायक आन्दोलन स्वरुप आमरण अनशन घोषणा गरिएको छ र पुरा हुनैपर्ने निम्न मागहरु राखेर लगानीकर्ता म तिलक कोइराला पूँजी बजार सुधार संघर्ष समिति संयोजकको हैसियतले आज असार १ गतेदेखि तेस्रो चरणको आमरण अनशनमा बस्दैछु । 

यो आमरण अनशन नेपालका सबै लगानीकर्ताका संघसंस्था र सरोकारवालाहरुको साझा आन्दोलन हो ।  सबै लगानीकर्ता संघसंस्थाहरुले स्वामित्वबोध गरी मलाई आमरण अनशनमार्फत माग पुरा गर्ने कार्यमा हर तरहले साथ र सहयोग गर्ने दृढ अठोट गर्नु भएको छ । उहाँहरुको यही निर्णयको आधारमा म ५२ लाख आम लगानीकर्ताको तर्फबाट आमरण अनशन बसेर पूँजी बजार सुधार र बिस्तारका लागि फेरि फेरि पनि आन्दोलन गर्नुपर्ने र अनशन बस्नु नपर्ने गरी अन्तिम लडाई लड्दैछु । यो लडाई सेयरको मूल्य घट्यो वा बढ्यो भनेर घटाई बढाई पाउँन शुरु गरिएको कुनै हालतमा पनि हैन र सेयरको मूल्य घटबढसँग जोडुनु कुनै अर्थमा पनि स्वीकार्य र न्यायोचित हुने छैन । 

हामीले सेयरको मूल्य बढिरहेको बेलामा दोस्रो आमरण अनशन गरेर सरकारलाई आफुले  गर्छु भनेका पूँजी बजारको सुधार र बिकासको काम गर्न दबाब दिएको कुरा जगजाहेर नै भएकाले मूल्य घटबढसँग आन्दोलन र अनशनलाई जोड्नु पूर्ण रुपमा गलत छ, त्यस्तो घृष्टता कसैले  पनि गर्नु हुँदैन । सेयरको मूल्य बढोस वा घटोस, सरकारको चासोको बिषय हुनै हुँदैन र बजार सुधार तथा बिकासका काम रोकिनु हुँदैन  भन्ने  हाम्रो मान्यता हो ।  सही नीति, नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती र प्रभाावकारी नियमन गरिए बजारले आफ्नो बाटो आफै लिन्छ, जोखिम, घाटा वा नाफा लगानीकर्ताले आफै ब्यहोरेका छन्, ब्यहोर्ने छन् भन्ने हो । 

पूँजी बजारको बिकासका लागि गर्नै पर्ने न्युनतम कामहरु जो सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेको थियो, त्यही गराउनु नै यो अनशनको मुख्य उद्धेश्य हो । हामीले अघि सारेका मागहरु हाम्रा माग नभई सरकारी निकायहरुले गर्छु भनी समय र जिम्मेवार निकायहरु समेत तोकिएका कामहरु हुन्। १९ बुँदे मागहरु मध्ये १५ वटा बुँदाहरु एकैदिनमा गर्न सकिने खालका छन् । 

यो आन्दोलन हामी लगानीकर्ता मात्रै हैन, सरकार, धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर, ब्रोकर लगायत पूँजी बजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले  सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु । 

हामीले अघि सारेका कुनै  एक वा केही मागको सम्बोधनले मात्र आमरण अनशन रोकिने छैन भन्ने प्रतिबद्धता सबै लगानीकर्ता संघसंस्था र ब्यक्तिगत रुपमा मबाट समेत प्रकट भएकाले पूर्ण रुपमा आस्वस्त हुन अनुरोध गर्दछु । कुनै पनि उधारो सम्झौतामा यो आमरण अनशन टुंगिने छैन र आम लगानीकर्तालाई धोका हुने छैन । आमरण अनशनबारे अन्तिम निर्णय लिने, माग थपघट गर्ने, मागहरुको ब्याख्या गर्ने र स्पष्ट पार्ने, त्यस बारेमा कुनै वार्ता गर्नुपर्ने त्यसका लागि टोली चयन गरी खटाउने र सम्झौता गर्नु परे त्यसमा हस्ताक्षर गर्ने सर्वाधिकार अनशनको नेतृत्व गर्ने ममा निहित रहेको कुरा सबै लगानीकर्ता संघसंस्थाका अध्यक्षज्यूसहितको सामुहिक निर्णयमा उल्लेख नै छ । 

सबै लगानीकर्ता संघसंस्थाहरुको साझा आन्दोलन भएकाले अनशन र आन्दोलनका लागि गठित समितिहरुले प्रभावकारी काम गर्ने नै  छन्  भन्ने  कुरामा पूर्ण विस्वस्त छु । उहाँहरुको क्रियाशिलता र ब्यापक मात्रामा लगानीकर्ता परिचालन मै यो आन्दोलन निर्भर रहेको पुन: स्मरण गराउँछु । 

म सामान्य खालको मधुमेहको विरामी भएकाले आमरण अनशन बसेको केही दिनमा नै जटिल स्वास्थ्य समस्या देखिनसक्छ तर मेरो स्वास्थ्य भन्दा पनि पूँजी बजार सुधार र बिकासको युगिन आबश्यकता धेरै  महत्वपूर्ण हो । 

अनशनमा सक्रिय सहभागिता जनाउन र माग पुरा नभएसम्म एकताबद्ध भई डटिरहन सबै सेयर लगानीकर्ता साथीहरुमा हार्दिक आग्रह गर्दछु । सबै लगानीकर्ता र सरोकारवालाहरु सडकमा उत्रिएर सरकारलाई बाध्य पार्न सकियो भने हामीले अन्तिम लडाई चाँडै जित्न सक्छौ र सुखद विहानी अबश्य आउँछ । हाम्रो लडाई देशको अर्थतन्त्र फराकिलो बनाउने, पूँजी बजारको नीति, नियम, पुर्वाधार र प्रविधिको सही बन्दोबस्ती, पूँजी आकर्शित गर्ने, लगानीको सुरक्षा जस्ता न्यायपूर्ण मागहरुमा आधारित  रहेकाले  जीत निश्चित रहेको कुरा पुन: दोहोर्याउँछु । 

हाम्रा मागहरु

१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने

२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल ब्रोकर लाईसेन्स वितरण गर्नुपर्ने

३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको वास्तविक चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने । 

४. ब्रोकरहरुको क्षमता  बिस्तार, उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने र ब्रोेकरहरुलाई शाखा  बिस्तार, डिलरशीप, एडभाईजरी, सब ब्रोकर जस्ता कुराहरुको अनुमति प्रदान गर्नुपर्ने ।  

५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । 

६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । 

७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने, संस्थागत सुदृढीकरण गर्नुपर्ने र पूँजी बजारका बारेमा नेपाल धितोपत्र बोर्डले गर्ने निर्णय अर्थ मन्त्रालयबाट अनुमोदन वा स्वीकृत भएपछि मात्र लागु हुने ब्यवस्था खारेज गरी पूर्ण स्वायत्तता प्रदान गर्ने ।

८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । 

९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका डीपी, आश्वालगायत अन्य शुल्कहरु घटाउनुपर्ने । 

१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्न, साना लगानीकर्तालाई प्रोत्साहित गर्न १० हजार रुपैयाँसम्मको बार्षिक पूँजीगत लाभमा लाभकर पुरै छुट दिनुपर्ने र बोनस सेयर पूँजी भएकाले कर नलाग्ने ब्यवस्था गर्ने । 

११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । 

१२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । 

१३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । 

१४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  

१५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । 

१६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । 

१७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो सार्वजनिक गरी सेयर कारोबार खुला राख्नुपर्ने । 

१८. राष्ट्र बैंकले सेयर धितो कर्जामा लागु गरेको ४।१२ को नीति परिमार्जन हुनुपर्ने  । 

१९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।नियमनकारी निकायहरुले कुनै पनि लगानीकर्तामाथि प्रतिशोध साँधी आतंकित बनाउने कार्य गर्न नहुने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको