Like us!
Follow us!
Connect us!
Watch us!

कोर्स करेक्शनमा शेयरबजार : बढ्ने पालो अब बैङ्किङको

सोमबार, १६ साउन २०७४, ०७ : २४ मा प्रकाशित

कोर्स करेक्शनमा शेयरबजार :  बढ्ने पालो अब बैङ्किङको

अर्थ संसार, काठमाडौं – लामो समयदेखि बीमा र लघुवित्त कम्पनीको शेयरमा रमाएका लगानीकर्ता अब वाणिज्य बैङ्कतिर सर्ने सङ्केत देखिएको छ ।

कतिपय बैङ्कले गत आर्थिक वर्षको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक भइसकेको र अन्यले पनि प्रकाशित गर्ने तयारी गरेकाले अब छिट्टै प्रतिफल घोषणा हुने अनुमानमा लगानीकर्ता बैङ्कप्रति आकर्षित भएका हुन् ।

सबै लगानीकर्ता बीमा र लघुवित्तको पछि लागेकाले ती समूहका कम्पनीको मूल्य उचाइमा पुगिसके पनि वाणिज्य बैङ्कहरूको मूल्य भने औसतभन्दा कम रहेको एक लगानीकर्ताले अभियानसँग बताए ।

आइतवार अनामनगरस्थित एक शेयर ब्रोकरकोमा भेटिएका ती लगानीकर्ताले भने, ‘बीमा र लघुवित्तको शेयर उच्च दरले वृद्धि हुँदा पनि बजारलाई डो¥याउने बैङ्कहरू मूल्य बढ्न नसक्दा समग्र नेप्से परिसूचक नै बढ्न सकेको छैन ।’ बैङ्कहरूले प्रतिफल घोषणा गर्ने समय नजिकिएकाले अब लगानीकर्ता बैङ्किङमा प्रवेश गर्ने उनको विश्लेषण छ ।

 अनामनगरकै अर्को ब्रोकर कम्पनीमा भेटिएकी एक महिला लगानीकर्ता बीमा र लघुवित्त समूहका कम्पनीको शेयर विक्री गर्ने आदेश दिँदै थिइन् ।

‘बीमा र लघुवित्त कम्पनीको शेयरमा पाकेको नाफा बूक गरेर बैङ्क समूहमा प्रवेश गर्ने योजना छ,’ उनले भनिन्, ‘सिजन र बजारको अवस्था हेरेर पोर्टफोलियो परिवर्तन (स्वीचिङ) नगर्ने हो भने नाफा कमाउन सकिँदैन ।’

बैङ्कहरूले धमाधम हकप्रद जारी गरिरहेका छन् यस्तो समयमा शेयर खरीद गर्दा थप लगानी गर्नुपर्छ नि, भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘एक त हकप्रदले अङ्कित मूल्यमा नै शेयर किन्ने अवसर दिन्छ । अर्को बजारमा छिरेपछि थप लगानी गर्नु पर्ला वा मूल्य अलिअलि घट्ला भनेर डराएर हुँदैन । केही न केही जोखीम त लिनैपर्छ ।’  

पछिल्लो समय बैङ्किङ प्रणालीमा लगानीयोग्य पूँजीको मात्रा (तरलता) बढ्दै गएकाले पनि बजारमा लगानीकर्ताको मनोविज्ञान बैङ्कको शेयरप्रति तानिएको विश्लेषण छ ।

तरलता सहज हुँदा गतवर्षदेखि बढेको ब्याजदरमा कमी आउने अपेक्षाले पनि लगानीकर्ताको आत्मबल दरिलो भएको एक विश्लेषकको भनाइ छ । ‘निश्चित जोखीमको अवस्थामा आफ्नो लगानीको उचित प्रतिफल आउँछ भन्ने लाग्यो भने व्यावसायिक लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्न पछि पर्दैन,’ ती विश्लेषकले भने ।

पछिल्लो समय नेपाली शेयरबजारमा यस्तै अवस्था देखिएकाले कारोबार रकम र नेप्से परिसूचकमा खासै कमी नदेखिएको उनको भनाइ छ ।   

आइतवार नेप्से परिसूचक सवा ३ अङ्कले घटेको छ । बीमासमूहको परिसूचक सबैभन्दा बढी ८२ अङ्कले घटेकाले त्यसको असर समग्र बजारमा परेको हो । पोर्टफोलियो परिवर्तन गर्ने क्रममा लगानीकर्ताले बीमा कम्पनीहरूको शेयर विक्री गरेकाले सो समूहको परिसूचक ओरालो लागेको एक पुराना शेयर ब्रोकरले बताए ।

‘सम्भवतः  (आज ) सोमवारबाट बैङ्कहरूको शेयरमा खरीद चाप देखिन सक्छ, नत्र १र२ दिनपछि लाभांश घोषणा हुन थालेपछि त बैङ्कहरूको खरीद सिजन नै शुरू हुन्छ,’ ती ब्रोकरले भने । पूँजी बजारको आकारमा भएको विस्तार र लगानीकर्तामा विकास भएको व्यावसायिकताले अहिले शेयरबजारलाई टेवा दिएको उनीहरू बताउँछन् ।

साथै तोकिएको चुक्तापूँजी पुर्‍याउन राष्ट्र बैङ्कले केही लचिलो नीति लिएकाले बैङ्कहरूले अहिलेसम्मको सञ्चित नाफाबाट दिन मिल्ने जति बोनस शेयर प्रदान गर्ने पनि लगानीकर्ताको अपेक्षा छ ।

यसले पनि उनीहरू बैङ्कको शेयरमा आकर्षित भएको बुझ्न  गाह्रो छैन । कतिपय बैङ्कले राष्ट्र बैङ्कलाई बुझाएको पूँजी वृद्धि योजनामा यति प्रतिशत बोनस शेयर जारी गर्छौं भनेर घोषणा नै गरेका छन् । यावत् कारणले पनि लगानीकर्तालाई बैङ्कहरूको शेयरमा बुलिश बनाएको मान्नेहरूको जमात बजारमा प्रशस्त छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको