नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारण सभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, "विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।"
नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाई राख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न उनले आग्रह गरेका छन् । उनले भने, "नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।"
उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महँगी बढेको र त्यसको मारमा नेपाली पनि परेको धारणा व्यक्त गरे ।
लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाई थियो । उनले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस