Like us!
Follow us!
Connect us!
Watch us!

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, ०७ : ३७ मा प्रकाशित

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । 

 

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन् । रघुगङ्गा गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पु¥याएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।

रघुगङ्गाका आठवटै वडाका लाभग्राहीको प्रभु बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैँकसम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई बस्ती स्तरमा पुर्याएर वितरण गर्न थालिएको हो । गाउँ बस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने जनाएको छ ।

रघुगङ्गामा कार्यतालिका नै बनाएर मङ्गलबार वडा नं ४ बाट गाउँ बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार मङ्गलबार वडा नं ४ दग्नामको वडा कार्यालय र दरमिजाको शिव आधारभूत विद्यालयबाट भत्ता वितरण गर्ने काम सकिएको छ ।

त्यसैगरी बुधबार वडा नं १ को बाँदुक र वडा कार्यालय बेग, बिहीबार वडा नं ७ को चिमखोला, साउन ७ गते वडा नं ६ को कोटगाउँ र वडा कार्यालय पाखापानी, साउन १० गते वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय, साउन १२ गते वडा नं २ को वडा कार्यालय, देउराली आधारभूत विद्यालय र सीताराम टोल तथा साउन १३ गते वडा नं ३ को वडा कार्यालय र मालिका देवी आधारभूत विद्यालयबाट लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबाबाट वडामै पुगेर सामाजिक भत्ता वितरण सुरु गरेको छ । पोखरेबगरस्थित गरिमा विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकामा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारीले जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरेका छन् ।

दोबाका १२६ लाभग्राहीहरुलाई वडाबाटै भत्ता वितरण गरिएको बैंकले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले आठवटै वडामा गाउँमै पुगेर लाभग्राहीहरुलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ । ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीहरुलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले  सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको