Like us!
Follow us!
Connect us!
Watch us!

महाकाली करिडोरको काम कछुवा गतिमा : चर्चा धेरै, काम सुस्त

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १३ : २० मा प्रकाशित

महाकाली करिडोरको काम कछुवा गतिमा :  चर्चा धेरै, काम सुस्त

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ । 

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको बताए । “पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न स्थानमा गरेर हालसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।” इञ्जीनियर घतानीले भने, “शून्य विन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सञ्चालन हुनसकेको अवस्था छैन ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्रयाक खोल्न गत वर्ष असारमा रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन । उक्त क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गोमा लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगेको छ । “वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि–अलि काम भएको छ”, उनले भने, “रुख कटानको विषय वन मन्त्रालयमा थन्किएको छ ।” 

करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार ९५१ रुख कटान गर्नुपर्नेछ । उक्त १५ किलोमिटर ट्रयाक २०८० भित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुपर्यो । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाले करिडोर अन्तर्गत बाँकी तीन जिल्लामा ट्रयाक खोल्ने काम भइरहेको जनाएको छ ।

योजना कार्यालयका अनुसार हालसम्म डडेल्धुरामा २२ किलोमिटर ट्रयाक खुलेको छ । डडेल्धुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर ट्रयाक खुलाउनुपर्नेछ । त्यसैगरी बैतडीमा १४५ किलोमिटरमध्ये ७० किलोमिटर ट्रयाक खुलिसकेको इञ्जीनियर घतानीले जानकारी दिए ।

उनले दार्चुलामा २०० किलोमिटरमध्ये ९४ किलोमिटर ट्रयाक खुलेको बताए । दार्चुलामा २०० किलोमिटरमध्ये ७८ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । वि.सं २०६६ मा दार्चुला–तिंकर सडक नामकरण गरिएको सो योजना २०७४ सालमा महाकाली करिडोरमा परिणत गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण करिडोर मानिए पनि सरकारले योजनाको रकम विनियोजनमा भने विगतको भन्दा घटाएको छ । गत वर्ष रु ७९ करोड ४२ लाख रकम विनियोजन भएकामा चालु आवमा रु ४१ करोड मात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ ।

रुख कटानलगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ । करिडोर अन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । त्यसैगरी डडेल्धुरामा १० हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला– तिंकर सडक योजना कार्यालयले जनाएको छ ।

“रुख कटानका लागि वन विकास कोषमा हामीले रु ५७ करोड रकम जम्मा गर्नुपर्नेमा रु ३७ करोड जम्मा गरिसकेका छौँ”, इञ्जीनियर घतानीले भने, “रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुङ्गोमा पुग्छ ।” उनले करिडोरअन्तर्गत सबैतिर ट्रयाक खोल्न ठेक्का सम्झौता भइसकेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको