काठमाडौं ५ अन्तर्गत बुढानिलकण्ठ र टोखा नगरपालिकालाई जोड्ने विष्णुमति करिडोरको ट्रयाक खन्ने काम सुरु भएको छ। यस कार्यको शिलान्यास स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले गरेका छन्।
हाल संघीय सरकारबाट विनियोजित १ करोड रुपैयाँको बजेटमा सुरु गरिएको यस परियोजनाका लागि थप बजेटको व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिबद्धता मन्त्री पौडेलले व्यक्त गरे। करिडोर निर्माणलाई दीर्घकालीन विकासको महत्वपूर्ण आधारको रूपमा हेर्दै उनले यसले क्षेत्रको विकास र समृद्धिमा ठूलो योगदान पुर्याउने बताए।
“नागरिकको दुःख देखेर यस करिडोरको कामलाई प्राथमिकतामा राखेको छु,” मन्त्री पौडेलले भने। “यो करिडोरले दुवै तहको विकास र नागरिकको आवश्यकता पूरा गर्न ठोस योगदान गर्नेछ।”
बुढानिलकण्ठको धनेश्वर–धन्नेढिकुरो क्षेत्रबाट सुरु भएको ट्रयाक निर्माणलाई स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य राखिएको छ। बुढानिलकण्ठ क्षेत्रमा सडक विस्तारको काम सडक डिभिजन विभागमार्फत अघि बढिरहेको छ भने टोखा क्षेत्रमा काठमाडौं उपत्यका विकास प्राधिकरणले कार्यभार सम्हालेको छ।
मन्त्री पौडेलले संघीय, प्रदेश, र स्थानीय तहबीच सहकार्य गरी करिडोर निर्माण सफल पार्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको समयमा मन्त्री पौडेलले सांसदमा निर्वाचित भए करिडोर निर्माण अघि बढाउने वाचा गरेका थिए। यस कार्यको सुरुवातले निर्वाचनका समयमा दिएका वचन पूरा गर्दै उनले जनताको अपेक्षालाई सम्बोधन गरेका छन्।
शिलान्यास कार्यक्रममा बागमती प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको समेत उपस्थिति थियो। उनीहरूले तीन तहबीच समन्वय र सहकार्य गर्दै परियोजनालाई सफल पार्ने प्रतिवद्धता जनाए।
बुढानिलकण्ठ वडा नं. ४ का वडाध्यक्ष श्रीराम केसीले करिडोर निर्माणको सुरुवात बुढानिलकण्ठ र टोखा दुवैतर्फ एकैसाथ भएको बताए। “पहिले बुढानिलकण्ठबाट मात्रै सुरु गर्ने योजना थियो,” केसीले भने, “तर मन्त्री पौडेलको पहलमा टोखामा पनि काम अघि बढेको छ, र उहाँले बजेट थप गर्न मद्दत गर्ने प्रतिबद्धता जनाउनुभएको छ।”
वडाध्यक्ष केसीका अनुसार विष्णुमति करिडोरको निर्माणपछि क्षेत्रको यातायात व्यवस्थापनमा सहजता आउनेछ। लामो समयदेखि चर्चा मात्र भइरहेको यस परियोजनाको कार्यान्वयनले दुवै नगरपालिकाका नागरिकलाई राहत दिने विश्वास उनले व्यक्त गरे।
यो करिडोरले दुबै नगरपालिकाबीच यातायातको पहुँचलाई सहज बनाउँदै क्षेत्रीय विकासमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस